काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार। सोमबार साढे १० बजे पुग्दा कार्यालयको ढोकाछेउ मानिसहरू झुम्म थिए। कोही मोबाइल खेलाइरहेका थिए त कोही गफ गरिरहेका। कार्यालयको मूलढोकाअगाडि उभिएका उनीहरू कर्मचारी होइन रहेछन्, जग्गाको काम लिएर आएका सर्वसाधारण पनि होइन रहेछन्। उनीहरू त लेखापढी व्यवसायी पो रहेछन्।
लिफ्ट छ, तर चल्दैन
मालपोत भवनमा लिफ्ट त छ, तर चल्दैन। भवन सात तलाको छ। भुइँतलादेखि छैटौं तलासम्म विभिन्न शाखा छन्। बिरामी, अशक्तलाई काम गर्न जान साह्रै अप्ठ्यारो छ। हिँडेरै तलमाथि गर्नुपर्छ। शारीरिक रुपमा फरक क्षमता भएका, अशक्त, वृद्धवृद्धालाई त त्यतिकै समस्या छ। दमकी बिरामी महिला गुनासोसहित स्याँस्याँ गर्दै भर्याङ चढिरहेकी थिइन्। ‘दम छ, माथि उक्लिन गाह्रो भयो,’ उनले भनिन्। उनलाई छोरीले घरिघरि हात समातेर माथि लगिरहेकी थिइन्। करोडौं खर्च गरेर राखेको लिफ्टको हरिबिजोक छ। लिफ्ट राखेदेखि नै नचलेको एक कर्मचारी बताउँछन्। ‘मैले सुनेको यो लिफ्ट बनाएदेखि नै चलेको छैन रे,’ उनले भने, ‘सुरुमै इरर थियो रे।’
छैन पार्किङ
डिल्लीबजारस्थित मालपोत कार्यालय परिसरमा पार्किङ छैन। कार्यालय पस्ने ठाउँमै मोटरसाइकल पार्किङ गर्दा मालपोतभित्र जानसमेत असजिलो हुने गरेको छ। मालपोतको भवन भव्य छ तर पार्किङको व्यवस्था छैन। गल्लीमा सवारीसाधन राख्नुपर्ने स्थिति छ। मालपोत जाने बाटोको उत्तरतिर चारखाल अड्डाको अब ढल्छ, तब ढल्छ जस्तो जोखिमपूर्ण पर्खाल छ। जुनसुकै बेला भत्किन सक्ने पर्खालको छेउबाटै सेवाग्राहीले मालपोत जानु पर्छ। त्यो डरमर्दो पर्खाल ढलेर कुनै पनि बेला कसैलाई भुतुक्क नपार्ला भन्न सकिन्न।
रोकिएन आर्थिक चलखेल
मालपोत कार्यालयमा आर्थिक चलखेल रोकिएको छैन। ‘पैसा नखुवाइ त यहाँ कामै हुँदैन,’ एक सेवाग्राहीले भने, ‘यहाँ काम गराउन साह्रै गाह्रो छ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका कर्मचारीलाई दर्जनौं पटक घुससहित पक्राउ गरेको छ। धेरैलाई भ्रष्टाचारको आरोपमा मुद्दा पनि दायर भएको छ। तर मालपोतका कर्मचारीले घुस खान, भ्रष्टाचार गर्न नछाडेको सेवाग्राही दुखेसो पोख्छन्। जग्गा रजिस्ट्रेसन पास गर्न आएका एक सेवाग्राहीले भने, ‘के गर्नुृ हुन्छ, तपाईंहरू जतिपल्ट आउनुहोस्, अख्तियारले जतिसुकै समातोस्, यहाँ घुस खान छाड्दैनन, के गर्नु हुन्छ।’ उनले आफूले पैसा खुवाएरै काम गराइरहेको बताए।
कर्मचारी घाम ताप्दै, सेवाग्राहीलाई खोज्दै सास्ती
छैठौं तलामा कर्मचारी घाम तापिरहेका थिए भने सेवाग्राहीलाई कर्मचारी खोज्नै सास्ती भइरहेको थियो। सेवाग्राही भौंतारिइरहेका थिए। कर्मचारी भने छतमा मस्त घाम तापिरहेका थिए।घाम तापिरहेका कर्मचारी कहाँ छन् खोज्दै गएर सेवाग्राहीले हस्ताक्षर गराउनुपर्ने बाध्यता हामीले भेट्यौं।
कर्मचारी छैनन्, हिटर मात्र बालिरहेको छ
कर्मचारी घाम तापिरहेका थिए। उता कतिपय खाली कोठामा हिटर बलिरहेका थिए। कर्मचारी हिटर बन्द नगरी यताउता र घाम ताप्न गएका थिए। दिउँसै बत्ति बलिरहेका, हिटरको दुरुपयोग भएको भेटिएको छ।
छेउमै लेखापढी व्यवसायीको तीनतले कार्यालय
मालपोतका कार्यालयसँगै जोडिएको लेखापढी व्यवसायीको तीनतले भवन छ। सरकारले लेखापढी व्यवसायीलाई कार्यालय बाहिरबाट सेवा सञ्चालन गर्न निर्देशन गरे पनि उनीहरूको कार्यालय मालपोत परिसरभित्रै छ। परिसरबाटै उनीहरू काम गरिरहेका छन्। सूचना अधिकारी राईले इजाजत लिएका लेखापढी व्यवसायीले मात्र काम गर्न पाउने बताए।
स्मार्टको कुरा मात्र, अफिसमा फाइल र कागजातका पोकैपोका
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पटक पटक मालपोत र नापी कार्यालयलाई डिजिटलाइज गर्ने घोषणा गरेको वर्ष दिन नाघिसकेको छ तर उपत्यकाको प्रमुख सरकारी अड्डा मालपोत कार्यालय डिल्लीबजारमा फाइल र कागजातका पोकैपोका देखिन्छन्। असरल्ल राखिएका ती फाइल र कागजातका पोकाले यो कार्यालय कहिल्यै डिजिटलाइज होला जस्तो देखिन्न। एक सेवाग्राही भन्दै थिए, ‘कुरा मात्रै हुन्, अनलाइन, डिजिटलाइजका। हाम्रा सरकारी अड्डा सधंै यस्तै हुन्, जनतालाई दुःख दिनु नै यीनको प्रमुख काम हो, कुनै काम सजिलो र छिटो हुँदैन यहाँ।’
बिचौलियाको नयाँ रुप
पछिल्लो समय मालपोत, नापी कार्यालयमा भू-सेवा प्रणाली लागू गरिएको छ। भू-सेवा प्रणालीमा दर्ता भएका लेखापढी व्यवसायीलाई लाइसेन्स दिएर नै बिचौलियाको काम गर्न अनुमति सरकारले दिएको छ। लाइसेन्स लिएका बिचौलिया अर्थात् बिचौलियाको सिन्डिकेटले पछिल्लो समय लेखापढीको काम गर्छन्। डिल्लीबजारमा करिब ३ सय लेखापढी व्यवसायी छन्। उनीहरूले सेवाग्राहीसँग पैसा लिएर काम गराउने गरेका छन्। वैधानिक रुपमा भू-सेवा प्रणालीमा दर्ता भएर उनीहरूले काम गरिरहेका छन्।
शौचालय फोहर, छैन पानी
प्रत्येक तलामा शौचालय त छन् तर पानीको थोपो छैन। जसले गर्दा शौचालय फोहर र दुर्गन्धित छन्। कार्यालयका सिँढीको छेउमा पान खाएर थुकेको पनि त्यत्तिकै भेटिन्छ। मालपोत अधिकृत राईले शौचालयमा फ्लस गर्ने व्यवस्था नरहेको बताए। ‘पानी त छ, तर आइरनयुक्त छ,’ उनले भने, ‘फ्लस गर्ने व्यवस्था छैन।’ अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०१ पुस २०७६, ०६ : ५९
लेखकबाट थप