गुप्तचर प्रमुख किन पुगे सुटुक्क दिल्ली ?

प्रधानमन्त्री ओलीको निर्देशनमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुटुक्क दिल्ली पुगेर तिन दिन बसि हिजो साँझ मात्र काठमाडौं फर्किएका छन्

सफल खबर संवाददाता

शुक्रबार, २७ मंसिर २०७६, ०८ : ११
गुप्तचर प्रमुख किन पुगे सुटुक्क दिल्ली ?

काठमाडौं । नेपालको गुप्तचर विभाग राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सुटुक्क नयाँ दिल्ली पुगेर फर्केका छन् । २३ मंसिरमा दिल्ली पुगेका उनी हिजो (बिहिबार) साँझ मात्र काठमाडौं फर्केको उच्च स्रोतले जनाएको छ । उनी ब्यक्तिगत काममा वा उनका आफ्नै योजनामा दिल्ली पुगेका होइनन् । प्रधानमन्त्री केपी ओलीले उनलाई दिल्ली पठाएको उच्च स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीले २२ मंसिरमा बालुवाटार बोलाई विशेष अवस्थाका कारण दिल्ली पुगेर आउन अह्राएपछि उनी दिल्ली पुगेको स्रोतको भनाई छ । तर त्यस्तो विशेष के काममा प्रधानमन्त्रीले गुप्तचर प्रमुखलाई दिल्ली पठाए भन्ने रहस्य खुलेको छैन । पहिले गृह मन्त्रालय मातहात रहने राष्ट्रिय अनुसन्धान विभाग अहिले प्रधानमन्त्री कार्यालय मातहत छ ।

उसले आफनो दैनिक सुरक्षा रिपोर्ट प्रधानमन्त्री कार्यालयमा बुझाउँदै आएको छ । १० दिन अस्पताल बसाईपछि १९ मंसिरमा अस्पतालवाट डिस्चार्ज भएपछि ओलीले गुप्तचर प्रमुख अधिकारीलाई बालुवाटार बोलाई नियमित छलफल गर्दै आएका थिए ।

कालापानी क्षेत्रमा पछिल्लो पटक नेपाल भारत बीचको सीमा विवाद चर्किरहेको र नेपालले कुटनीतिक सम्वादका लागि भारतीय पक्षसँग प्रयास गरिरहेका बेला उनको दिल्ली भ्रमणलाई रहस्यका साथ हेरिएको छ । कालापानी क्षेत्रको सीमा विवादमा नेपाली पक्षले लिम्पियाधुरा सम्मको क्षेत्र नेपालको भएको प्रष्ट पारेर भारतीयले कात्तिक १६ मा जारी गरेको राजनीतिक नक्सालाई अस्वीकार गरेको छ ।

परराष्ट्र मन्त्रालयले यस सम्बन्धमा भारतलाई एउटा कुटनीतिक नोट पठाउँदै सचिव स्तरको वार्ताका लागि मिति समेत प्रस्ताव गरी पत्राचार गरेको छ  । तर भारतीय पक्षले यसका विषयमा कुनै जवाफ दिएको छैन । नेकपाका वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्रीले विशेष दूतका रुपमा पठाउन खोजेपनि त्यो प्रयास पनि सफल नभईरहेका बेला ओलीकै आग्रहमा गुप्तचर प्रमुख दिल्ली पुगेर फर्किनुलाई निक्कै चासोका साथ हेरिएको छ ।

हिजो साँझ दिल्लीवाट फर्केका गुप्तचर प्रमुख गणेश अधिकारीले प्रधानमन्त्रीलाई आप्mनो रिपोर्ट भने बुझाएका छैनन् । उनले आज (शुक्रबार) प्रधानमन्त्रीलाई भेटेर जुन मक्सदका लागि प्रधानमन्त्रीले दिल्ली पठाएका हुन्, त्यसको बिफ्रिङ गर्ने सम्भावना रहेको छ । निक्कै गोप्य राखिएको गुप्तचर प्रमुखको दिल्ली भ्रमणका क्रममा गुप्तचर प्रमुख अधिकारीले त्यहाँका गुप्तचर प्रमुख र अन्य सम्बद्ध पक्षका ब्यक्तिहरुसँग भेटवार्ता गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस