भन्सार र कर प्रशासन समूहका कर्मचारीहरुको सम्पत्ति विवरण संकलन गरेर अख्तियारमा बुझाइयो

पत्रपत्रिकाबाट

आइतबार, २२ मंसिर २०७६, ०७ : ४०
भन्सार र कर प्रशासन समूहका कर्मचारीहरुको सम्पत्ति विवरण संकलन गरेर अख्तियारमा बुझाइयो

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा राजस्व (भन्सार र कर प्रशासन) समूहका कर्मचारीहरुको सम्पत्ति विवरण संकलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

अख्तियारको आग्रहमा राष्ट्रिय अनुसन्धान विभागले केन्द्र, प्रदेश र जिल्ला तहमा रहेका आफ्ना संयन्त्रमार्फत राजस्व समुहका कर्मचारी, उनीहरुका परिवार र नातागोताको चल–अचल सम्पत्ति विवरण बटुलेको हो । अख्तियारले निजामती, प्रहरी र राअविको संयुक्त संयन्त्रलाई ‘सूक्ष्म निगरानी समुह’ नाम दिएर शंकास्पद व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको स्रोतले जनाएको समाचारमा उल्लेख छ ।

कर्मचारीले सरकारलाई बुझाएको सम्पत्ति विवरण वास्तविक सम्पत्तिसँग मेल नखाएपछि पहिलो चरणमा राजस्व समुहमा कार्यरतहरुको जानकारी बटुलेको हो । भ्रष्टाचार अनुसन्धान तथा नियन्त्रणमा निगरानी समुह सक्रिय रहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस