भोजपुर । भोजपुर नगरपालिका – १० खुरीलाका स्थानीय कृषकहरुले आलु भण्डारण केन्द्र निर्माण गरेका छन् । आलुको विउलाई गुणस्तरिय बनाउने उद्देश्यले कृषी ज्ञान केन्द्र भोजपुरको आर्थिक सहयोग तथा जनश्रमदानमा कृषकले भण्डार केन्द्र निर्माण गरेका हुन् ।
भण्डारण केन्द्र नहुँदा आलुको विउ राख्न यहाँका कृषकलाई निकै समस्या हुदै आएको थियो । कृषकले पराम्परागत रुपमा आलु भण्डारण गर्दा विउ राम्रो नहुने, रोप्नु भन्दा पहिला उम्रिने, उत्पादन राम्रो नहुने लगाएतका समस्या भोग्दै आएका थिए । कृषकहरुले उन्नति बहुउदेश्यीय कृषक समूह गठन गरेर १० हजार केजी क्षमताको आलु भण्डारण रस्टिक स्टोर निर्माण गरेका हुन् । स्थानीय कृषक मानबहादुर कार्कीले भने ‘भान्साघर, तथा तातो ठाउँमा राख्दा आलु चाँडै उम्रिने,बाक्लो गरि राख्दा कुहिने हुन्थ्यो, अव त्यस्तो समस्या नहुने भएको छ , अहिले हामीलाई निकै सहज भएको छ ।’
खुरीला क्षेत्रलाई जिल्लाको निकै राम्रो आलु उत्पादन हुने क्षेत्रको रुपमा लिने गरिन्छ । यहाँका कृषकहरुले भोजपुर सदरमुकाम लगाएत क्षेत्रमा विक्रीका लागि आलु ल्याउने गरेका छन् । कृषकहरुको सकृयतामा कृषि ज्ञान केन्द्र भोजपुरको चार लाख ७५ हजार र बाँकी स्थानीयको जनश्रमदानमा केन्द्रको निर्माण गरेका हुन् । उत्पादित सवै आलु भण्डारण गर्न नसकेपनि विउ आलु भने राख्न सक्ने भएपछि उनीहरुलाई सहज हुने भएको छ ।
‘ यहाँ उत्पादन भएको सवै आलु त राख्न सकिदैन,तर बिउ आलु भने गाउँका सवै कृषकको भण्डारण गर्न सकिन्छ ।’ कृषक कार्कीले भने । कृषक कार्कीका अनुसार यस क्षेत्रका एक कृषकले १५ देखि ६० मुरी सम्म आलु उत्पादन गर्ने गरेका छन् । केन्द्रको निर्माणसंगै स्थानीय कृषकहरु उत्साहित भएका छन् । आलुको विउलाई यसरी भण्डारण गरेर राख्दा उत्पादनमा समेत बृद्धि हुने कृषकहरुको भनाइछ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० मंसिर २०७६, ०७ : १२
लेखकबाट थप