मलेसियाले ३१ हजार कामदार माग्यो

पत्रपत्रिकाबाट

बुधबार, १८ मंसिर २०७६, ०७ : ०३
मलेसियाले ३१ हजार कामदार माग्यो

file photo

काठमाडौँ । मलेसियामा दुई महिनामै ३१ हजारभन्दा बढी नेपाली कामदारको माग भएको छ । झन्डै सात महिना रोकिएको श्रमिक पठाउने प्रक्रिया खुलेपछि मलेसियाबाट छोटो समयमै नेपाली कामदारको ठूलो संख्यामा माग भएको हो ।

मलेसियास्थित नेपाली दूतावासले दुई महिनामा ३१ हजारभन्दा बढी कामदारको माग प्रमाणीकरण गरेको जनाएको छ । दूतावासले मंगलबार विज्ञप्ति जारी गरी असोज तेस्रो सातादेखि मंसिर १४ सम्मको अवधिमा ३१ हजार २ सय १ श्रमिक माग भएकामा ९ सय ६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गरिएको जनाएको छ ।

मलेसियाबाट औद्योगिक क्षेत्रमा १७ हजार १ सय १६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) मा १० हजार १ सय ८३, कृषि क्षेत्रमा एक हजार ४ सय ७५, ‘प्लान्टेसन’ मा एक हजार ३ सय ९७ र निर्माण क्षेत्रमा एक हजार ३० श्रमिकको माग भएको विज्ञप्तिमा उल्लेख छ । ती मागपत्र प्रमाणीकरण गरी विभागमा पठाइएको दूतावासले जनाएको छ । मागपत्र प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाइएको समेत दूतावासले विज्ञप्तिमा छ ।

स्वास्थ्य परीक्षण र भिसा प्रोसेसिङका क्रममा नेपाली ठगिँदै आएको भन्दै तत्कालीन श्रममन्त्री गोकर्ण बिष्टले झन्डै सात महिनासम्म मलेसियामा कामदार पठाउन रोकेका थिए । मलेसिया र नेपालबीच पटकपटक भएको वार्तामा स्वास्थ्य परीक्षण र भिसा प्रोसेसिङमा नेपाली कामदार नठगिने प्रत्याभूति गर्ने सहमति भएपछि असोज तेस्रो सातादेखि मलेसियाको रोजगारी खुलेको हो । सहमतिसँगै मलेसियाबाट नेपाली कामदारको माग हुन थालेको हो ।

नेपाल र मलेसियाबीच भएको कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीअनुसार मलेसियाली सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका मागपत्र अभिलेखीकरण गरी विभागमा सिफारिस गर्न थालिएको पनि दूतावासले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस