तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि त्रिभुवन विमानस्थलमा कडाई

बुधबार, १८ मंसिर २०७६, ०६ : ५३
तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि त्रिभुवन विमानस्थलमा कडाई

काठमाडौं । तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ। प्रहरीले यात्रुको आवागमन हुने ढोका सुरक्षाकर्मी संख्या बढाउनुका साथै सीसी क्यामेरा, इलेक्ट्रीक ढोका र लगेज तथा अन्य सामान जाच गर्न प्रयोग गरिने विद्युतीय एक्सरे मेसिन थप गरेको हो।

विदेशबाट फर्कने यात्रु र तस्करको लगेजबाट बढी अवैध सामान तथा सुन भेटिएपछि प्रहरीले त्यसलाई थप कडाइ गर्न विभिन्न प्राविधिक मेसिन जडान भइरहेको विमानस्थलले जनाएको छ। विमानस्थलका प्रहरी प्रमुख डिआइजी सूर्य उपाध्यायका अनुसार आइटीको बढी प्रयोग भइरहेको बेला विमानस्थलभित्र पनि त्यसको आवश्यकता महसुस गर्दै नयाँ मेसिन थप गरिएको छ।

यसअघिका मेसिनबाट कालो प्लास्टिकमा बेरिएको सामानसमेत पत्ता लगाउन समस्या हुने अवस्था थियो। तस्करीमा यही प्रविधि प्रयोग गर्न थालिएको प्रहरीले जानकारी दिँद आएको थियो। यात्रु ओर्लिएपछि जाँचको लागि अहिले नयाँ मेसिन जडान गरिएको छ। चोर र तस्करलाई सजिलो भइरहेको सरकारी अधिकारीले निष्कर्ष निकालेपछि नयाँ प्रविधि जडान गरिएको हो। प्रहरीका अनुसार करिब ११ करोडको अत्याधुनिक एक्सरे मेसिन जडान भइसकेका छन्।

लगेजभित्रको सामान एक्सरे मेसिनले बाहिरबाटै पत्ता लगाउन सक्छ। मेसिनलाई कम्प्युटरमा जडान गरेपछि लगेजमा भएका सामान कम्प्युरट स्क्रिनमा हेर्न सकिन्छ। एक्सरे मेसिनको आधारमा कम्बरमा बाँधेर ८ किलो सुन लिएर नेपाल छिरेका दुई चिनियाँ नागरिकलाई एयरपोर्ट भन्सार कार्यालले जाँचको क्रममा बिहीबार राति ११ः१५ बजे पक्राउ गरेको थियो। एक्सरे मेसिन कम भएका कारण सबैतिर जाँच गर्न कठिन रहेका कारण उनीहरूले सुन छिराउने प्रयास गरेका थिए। डेढ महिनाअघि थप गरिएका नयाँ मेसिनका कारण चेकजाचमा सहज भएको डिआइजी उपाध्यायले बताए। उनले मंगलबार पनि विमानस्थलबाट कालो रंगको वन्यजन्तुको सिंङसहित एक व्यक्ति पक्राउ परेका छन्। हुम्ला ताँजाकोट गाउँपालिका– ५ की २५ वर्षीया सम्झना बुढालाई प्रहरीले जाँचका क्रममा सिंङ फेला पारेको थियो।

भिभिआइपी ‘चेकिङ’मा पनि कडाइ
डिआइजी उपाध्यायले आवागमन कक्षमा भिभिआइपीको जाँचमा पनि कडाइ गरिएको बताए। ‘अहिले विमानस्थलको भित्री पूर्वाधार मर्मत, सुरक्षा व्यवथामा कडाइ र नयाँ प्रविधि जडान गरिएको छ, यसले हामीले यात्रुको जाँच गर्न पनि सहज भइरहेको छ,’ उनले भने, ‘अहिले भिभिआइपी प्रवेश गर्ने गेटमा पनि एक्सरे मेसिन जोडेका छौं, अब भिभिआइपीलाई पनि कडाइ गरिन्छ।’ उनले विगतमा भिभिआइपीलाई कडाइ नगरेको र केही सामान उनीहरूको माध्यमबाट ल्याइएको भन्ने गुनासो र आलोचना भएपछि उनीहरूमाथि पनि निगरानी राखिएको जानकारी दिए। अहिले भिभिआइपी कक्षमा पनि उनीहरूको हाते झोला जाच गर्नको लागि दुईवटा एक्सरे मेसिन राखिएको छ। नागरिक दैनिकमा खबर छ ।