Safal Khabar - देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा
शनिबार, २८ मङि्सर २०७६ (Saturday, 14 December, 2019)
देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा
आइतबार, १५ मङि्सर २०७६, १६ : १०
देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा

- रमेश लम्साल र रामहरि न्यौपाने 
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाल जारी रहेको कामअनुसार तीन महिनाभित्रै १० मेगावाट क्षमताको विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो । 

हालै मात्र प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिसकेको छ । आयोजना प्रमुखका अनुसार आयोजनाबाट दुई चरणमा आगामी छ महिनाभित्र शतप्रतिशत विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । “नुवाकोटको विदुर नगरपालिका ६ र १२ मा पर्ने देवीघाट जलविद्युत् केन्द्रको खाली जग्गा सम्याउने काम पूरा भइसकेको छ”, आयोजना प्रमुख रघुवंशीले भन्नुभयो, “सोलार प्यानल जडान गर्न पाइल (प्यानल अड्याउने पिल्लर) गाड्ने काम धमाधम भइरहेको छ ।”

कूल २ दशमलब ५ मिटर लम्बाइको पिल्लर गाड्न ड्रिल गर्ने उपकरण प्रयोगमा ल्याइएकाले अबको दुईदेखि तीन महिनामै १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाको दाबी छ । पिल्लर गाड्ने काम भइरहेको र अन्य आवश्यक सामग्रीसमेत कार्यक्षेत्र (फिल्ड)मा ल्याउने आउने क्रममा रहेकाले यही गतिमा निर्माण तीव्र बनाउन सकेमा दुई महिनामै विद्युत् उत्पादन गर्नसमेत सकिने लक्ष्य राखिएको आयोजनाका इञ्जिनीयर नीरज कर्णले जानकारी दिनुभयो । 

Yeti Diistillery
nic asia

उहाँको अनुसार पहिलो चरणमा १० मेगावाट क्षमतामा  विद्युत् उत्पादन गर्न दुई स्थानमा प्यानल जडान भइरहेको छ । स्टाफ क्वाटर  र फोरबे (नेपाली सेनाको ब्यारेक पछाडिको चउर) मा सौर्य प्यानल जडानका लागि  करीब छ हजार ३०० पिल्लर गाड्नुपर्नेमा सो कार्य अन्तिम चरणमा पुगिसकेको कर्णले बताउनुभयो ।

आयोजनाले कूल २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउन लागेको छ । ऊर्जा मिश्रण परियोजनाअन्तर्गत सो कार्य अगाडि बढेको प्राधिकरणले जनाएको छ । पहिलो चरणमा १० मेगावाट विद्युत् उत्पादन शुरु भएपछि त्यसपश्चात थप अर्को तीन महिनाभित्रै बाँकी १५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको योजना छ । थप विद्युत् उत्पादनका लागि अन्य पाँच स्थानमा एकै साथ सोलार प्यानल जडान गर्न लागिएको आयोजना प्रमुख रघुवंशीको भनाइ छ ।
     
दोस्रो चरणमा विदुर नगरपालिकाको ६ र १२ मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान अन्य थप पाँच स्थानमा अहिले जग्गा सम्याउने काम अन्तिम चरणमा पु¥याइएको छ । नेपालकै ठूलो सौर्य प्लान्टको रुपमा निर्माण भइरहेको ‘ग्रिड सोलार आयोजना’ नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो । 

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’मार्फत भइरहेको छ । करीब रु तीन अर्ब ८० करोड लागत लाग्ने प्रक्षेपण गरिएको आयोजना विद्युत् उत्पादनका लागि निकै प्रभावकारी र सस्तो हुने प्राधिकरणको दाबी छ ।  “खेर गएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको खुला (प्रयोगविहीन) जग्गामा सञ्चालन हुने आयोजनाको लगानी, प्रयोग र विद्युत् उत्पादनमा देशकै ‘नमूना’ हुने विश्वास लिइएको छ ।

प्राविधिकका अनुसार यस आयोजना २५ मेगावाट विद्युत् उत्पादन भए पनि डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रुपान्तरण गर्दा २० मेगावाट विद्युत प्रयोगयुक्त हुने देखिन्छ । आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले पाँच वर्षसम्म गर्ने सम्झौता उल्लेख भएअनुसार आयोजनाको हस्तान्तरण त्यसपछि मात्रै हुने छ ।

परियोजनाबाट उत्पादित विद्युत् देवीघाट जलविद्युत् केन्द्रमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने छ । त्यसका लागि सवस्टेशन निर्माण भइरहेको छ । प्लान्ट र सवस्टेसनको दूरी ५०० मिटरदेखि दुई किमी मात्र पर्ने हुँदा प्रसारण लाइन विद्युत् उत्पादनभन्दा अघि नै सम्पन्न भइसक्ने आयोजनाले जनाएको छ । प्लान्ट सञ्चालनमा आएपछि वार्षिक तीन करोड ३० लाख युनिट विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा थप हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस