प्रचण्ड भन्छन् : जघन्य अपराधका दोषी कारवाहीमा पर्छन्

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, १२ : ११
प्रचण्ड भन्छन् : जघन्य अपराधका दोषी कारवाहीमा पर्छन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भने, ‘टोटल एमनेष्टीको पक्षमा म छैन, सकभर समाजमा मेलमिलाप गराउने, कतिपयमा परिपुरणको ब्यवस्था गर्ने, कतिका सामुहिक प्रतिमा स्थापना गरेर सम्मान गर्ने र कतिपय जघन्य अपराधका दोषीलाई कारवाहीको भागीदार बनाउने गरी जानुपर्छ ।’
तत्कालिन नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित १० वर्षे जनयुद्धका क्रममा राज्य र विद्राही दुवै पक्षबाट भएका हरेक घटनाको छानविन गरी जघन्य अपराधका घटनाका दोषीलाई भने कारवाहीको भागीदार बनाइने प्रचण्डले बताएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित बुद्धिमान पाख्रिनको सत्रौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन् । तत्कालिन अवस्थामा पाख्रिन युद्धकालमा माओवादी विद्रोहीबाट मारिएका थिए ।
प्रचण्डले युद्ध नापे तौले जस्तो नहुने र युद्धमा भएका सबै घटना राम्रा र सबै नराम्रा घटना पनि नहुने भन्दै सकभर विद्रोहीका तर्फबाट राम्रा काम गर्न खोज्दा पनि कही कमजोरी भएको स्वीकार गरेका थिए  । उनले युद्धका बेला भएका सबै घटनाको नैतिक भागिदार आफै युद्धको नेतृत्वकर्ता भएकाले लिने पनि बताए ।
उनले भने, ‘युद्ध सारै नापेतौले अनुसार नहुँदो रहेछ । राम्रा नराम्रा दुवै परिणाम युद्धमा हुन्छन् । सकेसम्म आफनो तर्फबाट गल्ती नहोस् भनेर ध्यान दिने प्रयास हुन्छ ।  जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको नेताको नाताले सबै राम्रा नराम्रा घटनाको म जिम्मेवार छु । यो कुरा मैले सार्वजनिक रुपमा निरन्तर भन्दै आएको छु ।’
अध्यक्ष प्रचण्डले अन्तरिम संविधान बनाउने बेला सम्पूर्ण रुपमा आममाफीको प्रस्ताव आएपनि आफैले घटना विशेष छानविन गरी जघन्य अपराधका विषयमा भने दोषीलाई कारवाहीको भागीदार बनाउनु पर्ने पक्षमा आफु उभिएको धारणा पनि राखे ।
उनले भने, ‘अन्तरिम संविधान बनाउँदाका बेला युद्धका बेलाका सबै घटना बिर्सौं भन्ने प्रस्ताव आएका थिए । मैले त्यसबेला भनेँ त्यसो गर्नुहुदैन । भविष्यमा गलत ढंगले मान्छेको हत्या नहोस्, बलात्कार नहोस्, जघन्य हत्या गर्नेहरुलाई उन्मुक्तिको वातावरण नबनोस् भनेर मैले नै, अन्तर्राष्टिय मान्यता, न्याय सम्बन्धी मान्यता समेतलाई ध्यान राखेर प्रत्येक घटनाको छानविन गर्नुपर्छ ।  मेलमिलापको उदेश्य राखेर परिपुरणको वातावरण बनाउनु पर्छ । ताकि भविश्यमा त्यो खालको घटना नहोस । तत्कालिन राज्य र विद्रही दुवै पक्षका जघन्य अपराधमा कारावाहीका भागीदार बनाउनु पर्छ भनेरै सत्य निरुपण र बेपत्ताका कुरा गरिएका हुन् ।’
अध्यक्ष प्रचण्डले समाजमा सकभर मेलमिलाप गर्नसक्नेलार्इ मेलमिलापमा लैजाने, परिपुरण गरेर मिलाउन सकिनेलाई मिलाउने र जघन्य अपराध नै गरेको ठहर भएमा र अदालतमा लगेर कारबाही गर्नु पर्नेलार्इ भने कारवाहीको भागीदार बनाउन सकिने बताए ।
उनले भने, ‘मेरो माथी धेरै मुद्धा छन्, कति झुटा छन्, कति सही छन् पछि थाहा होला । म दोषी छु भने कारवाही भागिदार हुन्छु । दोषीले उन्मुक्ति पाउने भन्ने छैन । तर सत्य निरुपण तथा मेलमिलाप आयोग सकेसम्म समाजमा मेलमिलाप गर्ने, परिपुरण गर्ने र जघन्य अपराधका दोषीलाई कारवाही गर्ने गरी नै अगाडी लैजान खोजिएको हो ।’
अध्यक्ष प्रचण्डले अब सत्य निरुपण तथा मेलमिलापको विषय धेरै नअल्झिने पनि प्रष्टाए । उनले अब छिटै यो विषयमा आयोग बनेर घटनाको छानविन हुने बताए ।
‘आममाफीको मात्रै कुरा छैन, घटना घटना अनुसार नै कति मेलमिलाप, कति पपिुरणका कुरा होस कति सामुहिक रुपमा प्रतिमा स्थापना गरेर वा कति कारवाहीमा लैजाने भन्ने होलान्, घटनापिच्छे कुरा हुन्छ’ उनले भने, ‘पीडित परिवारलाई राज्यका तर्फवाट गर्नुपर्ने कामको पनि परिभाषित हुनुपर्छ भन्ने लागेर हामीले विधेयकमा राखेका छौं । प्रक्रिया अगाडी बढेको छ । अब ढिलो हुँदैन ।’
उनले त्यसवेलाका कतिपय घटना एमाले र माओवादीका रुपमा नभएको वुझिदिन पनि आग्रह गरे । ‘हिजो पनि माओवादी एमाले आपसमा लडाई लडेका होइनौं । हामी आपसमा दुश्मन आफै थिएनौं । नहुनुपर्ने घटना केही भए पक्कै पनि ।’ प्रचण्डले अगाडी थपे, ‘राजनीतिक सम्भावनाको खेल हो । समान उदेश्य भएपनि बिचमा धेरै तिक्तता भएपनि विचार राजनीति निष्ठाले एक ठाउँमा ल्याउन सक्छ भन्ने मान्यता राख्छौं हामी ।  त्यही भएर अहिले नेकपा बनेको छ ।’

प्रतिक्रिया दिनुहोस