काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कलंकी-नारायणगोपाल चोक-कोटेश्वर चक्रपथ विस्तारको काम छिटो अगाडि बढाउन नसक्ने विकल्प खोज्नुपर्ने प्रस्ताव राखेका छन् ।
शुक्रबार सिंहदरवारमा बसेको संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सधैँ ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताए ।
सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पारे । ‘तुरुन्तै अगाडि बढ्छ भन्ने वचन सधैँ आइरहने तर ठोस रूपमा अगाडि नबढ्ने, यो समस्या हामीले पहिल्यैदेखि भोग्दै आएको हो’ उनले भने, ‘खासै काम अगाडि बढेको देखिँदैन । प्रक्रियागत झमेला, ढिलाइ, यो असाध्यै झन्झटिलो देखिन्छ ।’
काम सुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन पनि उनले आग्रह गरे । उनले भने, ‘यसको डिटेल, प्रक्रिया बताए पनि मूल सरोकार यसको ढिलाइ किन भयो, छिटो काम सुरु हुनुपर्यो भन्ने हो । टेक्निकल कुरामा जानु परेन । छिटो काम सुरु हुनुपर्यो । अब नहुने हो भने विकल्प खोज्नुपर्यो । होल्डमा मात्रै राख्न भएन ।’
सांसद ज्वालाले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताए । उनले दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०८२, १२ : ४६
लेखकबाट थप