सीएमसीले विद्यार्थीलाई भन्यो– ‘मेरो गोरुको बाह्रै टक्का नगर, पठनपाठनमा फर्क’

सफल खबर संवाददाता

विहीबार, १२ मंसिर २०७६, १५ : १९
सीएमसीले विद्यार्थीलाई भन्यो– ‘मेरो गोरुको बाह्रै टक्का नगर, पठनपाठनमा फर्क’

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) ले सरकारसँग भएको दुई बुँदे सहमतिले विद्यार्थीका सम्पूर्ण माग पूरा भएको जनाएको छ । आज कलेजले पत्रकार सम्मेलन गरी विद्यार्थीलाई मेरो गोरुको बाह्रै टक्का नगरी पठनपाठनमा फर्कन सुझावसमेत दिएको छ । 

पत्रकार सम्मेलनमा मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानले सरकारसँग गरेको सम्झौता कार्यान्वयनको प्रक्रियामा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीका समस्या हल भएको छ, हामीले यसअघि नै शुल्क समायोजन गर्छौ भनेका थियौँ, अहिले सरकारसँग त्यही सम्झौता भएको छ ।’

उहाँले शिक्षा मन्त्रालयको निर्देशनलाई पालना गर्ने बताउँदै भन्नुभयो, ‘अदालतसम्म गएको भए, हामीले जित्ने सम्भावना थियो । तर त्यसो नगरौँ शिक्षा मन्त्रालयको आदेशलाई पालना गरौँ भनेर मेडिकल कलेजले लचकता अपनाएको हो । ’ 

कलेजका अध्यक्ष प्राडा न्यौपानेका अनुसार शिक्षा मन्त्रालयको मातहतमा बसेपछि उसले भनेको मान्नुपर्छ, त्यहीअनुसार सम्पूर्ण मेडिकल कलेजहरु आज्ञाकारी हुनेछौँ । उहाँले पैसा फिर्ता नगरी समायोजन गर्ने बताउनुभयो । सम्मेलनमा अध्यक्ष प्राडा न्यौपानेले भन्नुभयो, ‘सरकारसँगको सहमतिपछि विद्यार्थीहरुलाई सूचना निकालेर जानकारी गराएका छौँ, पठनपाठनमा फर्कन अनुरोध गरेका छौँ ।’

पहिलो र दोस्रो वर्षका विद्यार्थीको अतिरिक्त लिइएको शुल्क आउँदो शुल्कमा समायोजन हुने भनिए पनि तेस्रो र चौंथो वर्षको हकमा समायोजन हुन सक्ने अवस्था नरहेको पत्रकारहरुको जिज्ञासाप्रति प्राडा न्यौपानेले भन्नुभयो, ‘यस विषयमा चिकित्सा शिक्षा आयोगको जवाफ पर्खेका छौँ, उसको जवाफ छिटै आउला । जे निर्देशन आउँछ, त्यो पूरा गर्नेछौँ ।’ 

एमबीबीएसका विद्यार्थीको एकजनाको हकमा ६ लाखसम्म शुल्क समायोजना गर्नुपर्ने कलेजले जनाएको छ । सरकारको नीतिअनुसार मेडिकल कलेज चलेको दावी गर्दै प्राडा न्यौपानेले ‘मेडिकल शिक्षा नीतिलाई विद्यार्थीहरुले परिवर्तन गर्न खाजेको भए सम्बन्धित ठाउँमा नै जानुपर्छ, कलेजको पठनपाठन बन्द गरेर नीति परिवर्तन हुन सक्दैन ।’

विद्यार्थीको आन्दोलनले पहिलो वर्षका विद्यार्थीको ६ महिना त्यसै खेर गएको मेडिकल कलेजको भनाइ छ ।  कलेजले सरकार र मेडिकल कलेज संचालकबीच भएको सहमतिले विद्यार्थीहरुले उठाउँदै आएको आवाज पूरा भएको दावी गरेको छ । विद्यार्थीहरुले आफ्नो माग पूरा नभएको भन्दै जसरी पनि अन्तिम टुंगोमा पुगेर आन्दोलन स्थगित गर्ने जनाएका छन् । 

मेडिकल कलेजहरुले २०७४\०७५ र २०७५\०७६ को शैक्षिक सत्रमा त्रिभुवन विश्वविद्यालय वा आइओएमको बैंङकिङ प्रणालीबाट भर्ना प्रक्रिया अघि बढाएको थियो । दुई बुँदे सहमतिमा मेडिकल कलेजहरु यही शैक्षिक सत्रको अतिरिक्त शुल्क समायोजन गर्न तयार भएका हुन् । 

यसअघिको २०७२\०७३ र २०७३\०७४ को शुल्कबारे समस्या कायमै छ । प्राडा न्यौपानेले यो समस्याको लागि शिक्षा आयोगलाई अनुरोध गर्ने र निर्देशन आएअनुरुप प्रक्रिय अघि बढाइने बताउनुभयो । 
 

प्रतिक्रिया दिनुहोस