विराटनगर । एक महिनायता विराटनगरमा २६ लाख १८ हजार ८ सय ६० रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न दुई भारतीय र तीन नेपालीलाई प्रहरीले पक्राउ गर्यो । पक्राउ परेकाहरूले तोकिएको स्थलमा रकम पुर्याएपछि जनही ३ हजारदेखि ५ हजार रुपैयाँ दिइने प्रलोभनमा यो काम गरेको बयान प्रहरीमा दिएका छन् ।
सीमावर्ती विराटनगरमा वारिपारि हुन्डी कारोबारीको ठूलो सञ्जाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका अनुसन्धान अधिकृत डीएसपी घनश्याम श्रेष्ठले बताए । दुई वर्षकै अवधिमा २ करोड ३२ लाख २४ हजार ७ सय १० रुपैयाँसहित पक्राउ परेका २२ जनाको सूचीले पनि श्रेष्ठको दाबीलाई पुष्टि गर्छ । ‘एउटा कामका लागि कार्यालय खोल्ने र त्यसकै आडमा हुन्डीको कारोबार गरिरहेको पाइयो,’ श्रेष्ठले भने, ‘सहकारी संस्था र ठूला कारोबार गर्ने व्यापारिक घरानाले समेत ठगी तथा हुन्डीको कारोबार गरिरहेको भेटायौं ।’
विभिन्न खाले व्यावसायिक र निजी प्रयोजनबाहेक सुन एवं लागु पदार्थ तस्करीमा पनि हुन्डीमार्फत भुक्तानी हुने गरेको अनुसन्धानले देखाएको छ । ‘सीमा क्षेत्रमा व्यापारीबीच वैधानिक तवरबाट मात्र नभएर हुन्डीबाट समेत भुक्तानी हुने गरेको देखिन्छ,’ डीएसपी श्रेष्ठले भने, ‘व्यवसायीले कर छल्न र केहीले कालो धनलाई सेतो पार्ने मनसायले हुन्डीमार्फत कारोबार गरिरहेको प्रहरीको विश्लेषण हो, पर्दा पछाडिका थप कुरा भविष्यमा पनि खुल्लान् ।’
ठोस सूचना आएपछि हुन्डी कारोबारी वा यसका भरियाविरुद्ध तुरुन्तै कारबाही गरिएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले बताए । विशेष सूचनापछि निरन्तर निगरानी गर्दै गत वर्षको २९ पुसमा हुन्डी कारोबारी विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ३२ वर्षीय राजेश हेडासहित तीन जनालाई ६९ लाख ५७ हजार ६ सय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो ।
गत वर्षकै ८ पुसमा विराटनगर–१० मा एक भारतीय कार जाँच गर्दा डिकीमा राखिएको २४ लाख १५ हजार रुपैयाँसहित विहार अररियाका एक महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको थियो । सम्बन्धित कारोबारीसँग हुन्डी एजेन्टले रकम बुझ्न नपाउँदै यी दुई फेला परेको प्रहरीले जनाएको छ । २०७४ को ११ माघमा विराटनगर–११ स्थित एक घरमा विशेष सुराकीको आधारमा छापा मारी स्रोत खुलाउन नसकेको ३६ लाख १८ हजार २ सय ५० रुपैयाँसहित चार नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो ।
मोरङ प्रहरीका अनुसार विराटनगरमा हुन्डी कारोबारी पक्राउको ताजा शृंखला भने २०७४ को ३० कात्तिकमा पर्वत देउपुर गाउँपालिका–२ की एक ४२ वर्षीया महिला र सुनसरी धरान–१५ का एक ६३ वर्षीय पुरुषले हालेको उजुरीको आधारमा सुरु भएको थियो । ‘कसैले भाइबरमार्फत फोन गरी उनीहरूलाई ४० लाख रुपैयाँ चिठ्ठा पर्यो भन्दै ठगी गरेका थिए,’ डीएसपी श्रेष्ठले भने, ‘पीडितहरूकै जाहेरीको आधारमा प्रहरीले छापा मार्दा हुन्डी कारोबारीको पूरा गिरोह पक्राउ पर्यो, जसमा स्थानीय चर्चित व्यापारीहरू पनि छन् ।’
भाइबर सेवाको मद्दतले प्रहरीको एक विशेष टोलीले विराटनगर–७ स्थित एक व्यापारिको निवासमा छापा मार्दा स्रोत नखुलेको ८६ लाख ५९ हजार ३ सय ४५ रुपैयाँसहित सेठिया बन्धुहरू अनुपचन्द र ललित, विमलकुमार चिरानियाँ र पंकजकुमार शर्मासहित ८ जनालाई पक्राउ गरेको थियो । बरामद ७६ लाख १५ हजार रुपैयाँको उनीहरूले स्रोत खुलाउन नसकेकाले ऐनबमोजिम न्यूनतम तीन महिनादेखि अधिकतम एक वर्ष र सात महिनासम्म कैद एवं जरिवाना सजाय पाए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०९ मंसिर २०७६, ०७ : ३४
लेखकबाट थप