समाजवादीसँग तत्काल एकताको सम्भावना छैन : महतो

रासस

आइतबार, ०८ मंसिर २०७६, १८ : २६
समाजवादीसँग तत्काल एकताको सम्भावना छैन : महतो

फाईल फोटो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताउनुभएको छ ।

पार्टीको कार्यक्रमका लागि सिरहा आइपुग्नुभएका संयोजक महतोले आज सञ्चारकर्मीसँग समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो । 

लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीहरुसँग एकताको कुरा भइरहेको उल्लेख गर्दै महतोले अहिले नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताउनुभयो । संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्तालगायतका मागहरु सम्बोधन नभएसम्म तत्काल आफ्नो पार्टीले सङ्घीय सरकारलाई सहयोग गर्न नसक्ने बताउनुभयो । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मधेश र मधेशीको पहिचान र अस्तित्व रक्षाको लागि जनमत सङ्ग्रहको रूपमा आफ्नो पार्टीले लिएको उहाँको भनाइ थियो ।