चर्चित ‘डन’हरू को के गर्दैछन् ?

पत्रपत्रिकाबाट

शुक्रबार, ०६ मंसिर २०७६, ०६ : ४९
चर्चित ‘डन’हरू को के गर्दैछन् ?

काठमाडौं । विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् ।
राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् ।

केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै सांसदसम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् । धेरैजसो गुन्डा नाइके वा डनहरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् । केहीले भने पारिवारिक सम्बन्ध बनाएर प्रत्यक्ष साँठगाँठमा आफूलाई सुरक्षित राखेका छन् । केही गुन्डा नाइके पलायन भएर विदेश पुगेका छन् भने केही विभिन्न किसिमका व्यवसायतर्फ लागेका छन् ।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी विश्वराज पोखरेल भने डनहरू अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताउँछन् ।
‘अहिलेको सरकारले कानुन कार्यान्वयनमा निष्पक्षता, पारदर्शिता र समानता राख्न तथा पद प्रतिष्ठा र सम्बन्ध, शक्ति र सम्पन्नता नहेरी काम गर्ने वातावरण सिर्जना गरिदिएको छ, त्यो नै सबै प्रकारको गुन्डागर्दी, तस्करी र कालोबजारीविरुद्धको सफलताको मूल आधार हो,’ प्रहरी प्रवक्ता पोखरेलले राजधानीसँग भने ।

तत्कालीन एमाले धादिङका उपाध्यक्षसमेत रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा २१ साउन २०७१ मा मारिएपछि गुन्डा नाइकेहरू राजनीतिक संरक्षणमा रुमल्लिन थालेको प्रहरीका पूर्वअधिकारी बताउँछन् ।

चरी इन्काउन्टरको दुई वर्षपछि अर्थात् ३ भदौ २०७३ मा अर्का डन कुमार श्रेष्ठ (घैंटे) समेत मारिएका थिए । नेपाली कांग्रेस निकट गुन्डा नाइके भनेर चिनिएका उनलाई प्रहरीले राजधानीको कपुरधारामा इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ ।

यस्तै, १० फागुन २०७४ मा प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन तत्कालीन नेकपा एमालेका नेताहरूको संरक्षणमा रहेको बताइन्छ । उनले युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको ४ पुस २०७३ मा हत्या गरेका थिए ।

घैैंटेले भने जीवन रक्षाको माग गर्दै मारिनुभन्दा एक महिनाअघि मात्रै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका थिए । चरी र घैंटेलगायतको इन्काउन्टर विषयमा आयोगले अहिले पनि अनुसन्धान गरिरहेको बताउँदै आएको छ ।

चरी र घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि केही गुन्डा नाइके विदेश पलायन भएको प्रहरीले दाबी गरेको छ । सो दुई घटनापछि गुन्डा नाइकेले आफूलाई प्रहरीबाट असुरक्षित महसुस गरेको र सुरक्षित अवतरण खोजेको बताइन्छ ।

डनका रूपमा चर्चामा रहेका दीपक मनाङे हाल सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रदेश सांसद भएका छन् । उनी मनाङको प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारका रूपमा गण्डकी प्रदेशको प्रदेशसभामा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । उनी गत १९ असारमा (नेकपा)मा प्रवेश गरेका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले नेकपा प्रवेश गराएका थिए ।

अर्का गुन्डा नाइके गणेश लामा पहिले राप्रपाको संरक्षणमा थिए । पछि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य बनेका उनी गच्छदार नेपाली कांग्रेसमा फर्किएपछि हाल कांग्रेस नेताकै रूपमा छन् ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा लामा कांग्रेसका तर्फबाट काभ्रे निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट नेपाली कांग्रेसका लागि उम्मेदवार बनेका थिए । हाल उनी गच्छदारकै निकट रहेर काम गर्दै आइरहेका छन् । हाल उनी निर्माण व्यवसायको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आइरहेका छन् ।

यस्तै, नेकपासँग निकट रहेका अर्का गुन्डा नाइके हुन् मिलन गुरुङ अर्थात् ‘चक्रे मिलन’ । उनले नेकपाका एक नेताकी श्रीमतीसँग भाइटीका नै लगाउने गरेका छन् । अर्का गुन्डा नाइके राजु गोर्खालीको सम्बन्ध नेकपाका नेताहरूसँगै भएको बताइन्छ । यस्तै, साजन महर्जनसमेत नेकपा निकट नै मानिन्छन् ।

यसैगरी, ललितपुरका गुन्डा नाइके मीनकृष्ण महर्जन, समीर केसी, काभ्रेका सञ्जीव लामा र अजयमान श्रेष्ठ, सुन्धाराका पूर्ण गुरुङ र सामाखुसीका महेश श्रेष्ठ कांग्रेस निकट मानिन्छन् ।

अर्का गुन्डा नाइके मनोज आचार्यको राष्ट्रिय जनता पार्टी नेपालसँग साँठगाँठ रहेको बताइन्छ । फिल्म निर्माता मधु श्रेष्ठ पनि प्रहरीको गुन्डा सूचीमा छन् । धादिङका गुन्डा मानिएका राधे भण्डारी पनि कांग्रेसका नेतासँग प्रत्यक्ष सम्बन्धमा छन् । चलचित्र क्षेत्र हुँदै राजनीतिमा लागेका अर्का गुन्डा नाइके रोज राणा हाल चलचित्र निर्देशक र निर्माताका रूपमा सक्रिय छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस