खैजेडी भजन लोप भएपछि संरक्षण गर्न तालीम

मंगलबार, ०३ मंसिर २०७६, १३ : २९
खैजेडी भजन लोप भएपछि संरक्षण गर्न तालीम

सिन्धुली । यहाँको मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुन थालेपछि युवालाई तालीम दिएको छ । संस्कृतिलाई जोगाउन कमलामाई नगरपालिकाले जिल्लामा पहिलोपटक युवालाई छनोट गरेर तालीम दिएको हो ।

सोमबारबाट शुरु भएको तालीम तीन दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । सिन्धुलीमा पहिलोपटक लोपोन्मुख खैजेडी भजनको संरक्षण गर्नका लागि तालीम शुरु गर्ने कमलामाई नगरपालिकालाई धन्यवाद दिँदै प्रदेशसभा सदस्य विनोद खड्काले हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कमलामाई नगरपालिका–४ को आर्थिक सहयोगमा सिन्धुली कलाघरको आयोजनामा खैजेडी भजन तालीम शुरु गरिएको हो । धार्मिक कार्यमा गाइने खैजेडी भजन लोकप्रिय भएको अग्रजहरुले बताउँदै लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै आएका थिए ।
 
निकै प्रचलित खैजेडी भजन  पछिल्लो समय लोप हँुदै गएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादको रुपमा देख्न पाइन्छ । युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आर्कषण र प्रविधिले गर्दा लोप हुँदै गएको हो ।

सिन्धुली जिल्लामा प्रचलित खैजेडी भजन तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धका बेलादेखि विस्तारै लोप हँुदै गएको र पछिल्लो समयमा यसको संरक्षण गर्न समेत नसकिएको कमलामाई नगरपालिका–३ का खैजेडी भजनका प्रशिक्षकसमेत रहनुभएका पोष्टराज गौतमले बताउनुभयो । युवाको पुरानो संस्कृतिमा आर्कषण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालीमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुने उहाँको भनाइ छ । तालीममा २५ जनाभन्दा बढी युवाको सहभागिता रहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस