तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १२ : ०७
तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान

बाँके । हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने रु एक लाख ५० हजार धरौटी माग गरिएको छ । 

सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत कात्तिक १४ गते राति साढे ८ः०० बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले सन्दीपलाई फसाएको भन्दै तरुण दलको अगुवाईमा कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको थियो। उसले सडक प्रदर्शन, जिल्ला प्रशासनमा धर्नादेखि बाँके बन्दसम्म गरेको थियो ।

सोमबार भएको बहसमा समेत सन्दीपका तर्फबाट बहस गरेका कानून व्यवसायीले ‘सन्दीप निर्दोष रहेको र उसलाई फसाइएको’ जिकिर गरेका थिए । सन्दीपको तर्फबाट भोलासिंह हमाल, टीकाजंग सिंह, प्रल्हाद कार्की, सुनिल श्रेष्ठ, लोकबहादुर शाह, ईश्वरी ज्ञवालीलगायतका कानून व्यवसायीले बहस गरेका थिए । अर्कोतर्फबाट सरकारी वकिल यामबहादुर बानियाले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस