फिस्लिङमा स्थानीयद्वारा अवरुद्ध पृथ्वी राजमार्ग तीन घण्टापछि खुल्यो

आइतबार, ०१ मंसिर २०७६, १५ : ३४
फिस्लिङमा स्थानीयद्वारा अवरुद्ध पृथ्वी राजमार्ग तीन घण्टापछि खुल्यो

चितवन । प्रहरीको नियन्त्रणमा रहेका सैनिक जवानको मृत्यु भएपछि त्यसको विरोधमा फिस्लिङमा स्थानीयवासीले अवरुद्ध गरेको पृथ्वी राजमार्ग तीन घण्टापछि खुलेको छ ।  इच्छाकामना गाँउपालिका ५ मुग्लिन घर भएका सैनिक जवान २८ वर्षीय राम कँडेलको प्रहरी नियन्त्रणमै मृत्यु भएपछि स्थानीयले मध्याह्न १२ बजेदेखि राजमार्ग अवरुद्ध पारेका थिए ।  
स्थानीय, आफन्त र प्रहरीबीच घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने सहमति भएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले राजमार्ग खुलेसँगै जाममा रहेका सवारीसाधन गन्तव्यतर्फ लागेको र अवस्था सामान्य बन्दै गएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । 
नेपाली सेनाको बर्दबहादुर गण सिन्धुलीमा कार्यरत कँडेललाई शनिबार इच्छाकामना मन्दिरमा लागेको मेलामा होहल्ला गरेको भन्दै फिस्लिङ प्रहरीले पक्राउ गरेको थियो । मदिरा पिएपछि होहल्ला गरिरहेका कँडेललाई सम्झाउन खोज्दा प्रहरीमाथि नै हातपात गर्न थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार कँडेल चौकीबाट भाग्न खोज्दा अस्थायी प्रहरी पोष्ट फिस्लिङको भवनको दुई तला माथिबाट खसेका थिए । घाइते भएको अवस्थामा फेला परेका उनलाई भरतपुरतर्फ उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए । शव अहिले भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । 
सामान्य विवादपछि प्रहरी नियन्त्रणमा पुगेका कँडेलको रहस्यमय ढंगबाट मृत्यु भएको स्थानीयवासीको आरोप छ ।