काम नगर्ने ठेकेदारका पोष्टर टांँस्ने लहर

पत्रपत्रिकाबाट

आइतबार, ०१ मंसिर २०७६, ०६ : ४६
काम नगर्ने ठेकेदारका पोष्टर टांँस्ने लहर

दोलखा । राजधानी आउजाउ गर्ने जिल्लाको मुख्य सडक बिस्तार कार्य ५ वर्षदेखि अलपत्र पार्ने ठेकेदार कम्पनी र त्यसका मालिकविरुद्ध शनिबार दोलखामा नगरकोटको जस्तै जनआक्रोश देखियो।

दोलखाबाट राजधानीका लागी छुटेका र राजधानीबाट आइपुगेका बस तथा गाडीहरुमा स्थानीयले स्वस्फुर्त रुपमा ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका प्रबन्ध निर्देशक दिपक सापकोटाको तस्विर अंकित पोष्टर टाँसेर पठाए।

५ वर्षदेखी दोलखाको मुख्य लाईफलाईन मानिएको सडक बिस्तारको काममा चरम लापरवाही गरेर अलपत्र पारेको, कालोपत्रे नगरेको साथै ठेकेदार कम्पनीकै कारण आफुहरुले सास्ती व्यहोर्नु परेको भन्दै पोष्टरमै आक्रोश पोखिएको थियो। सातदोबाटो चोकमा शनिबार मध्यन्ह तिर जम्मा भएका चरिकोटका स्थानीयले सार्वजनिक बसहरुमा पोष्टर टास्न सुुरु गरेपछि चरिकोट बजार भरी रहेका गाडीका चालक र स्टाफहरुले स्वस्फुर्त रुपमा आफ्ना गाडीहरुमा टाँसेका थिए। चरीकोट बजारका चोक र पोलहरुमा पनि पोष्टर टागिएको छ।  

सडक अलपत्र पारेकै कारण स्थानीयमा ५ बर्ष यता आक्रोश चुलिदो छ। ठेकेदार कम्पनीको लापरवाहीकै कारण सडक अलपत्र परेको भन्दै दोलखावासीले पटक(पटक दबाबमुलक आन्दोलन समेत गर्दै आएपनि ठेकेदारले काम नगरेको चरिकोटका होटल व्यवसायी पुष्कर अधिकारीले बताए। अर्का व्यवसायी कमल चौहानले ठेकेदार कम्पनीको लापरवाही र ढिलासुस्तीले जिल्लाको जनजीवन अस्तव्यस्त बनिसकेको भन्दै आक्रोश पोखे। सडक ढिलासुस्तीकै कारण ढुवानीमा बाधा पुग्दा राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना समेत ढिलाई भईरहेको छ।

भारतीय एक्जीम बैंकको ऋण लगानीमा अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखी जिरीसम्मको लामोसाँघु–जिरी सडकलाई दोहोरो लेनको बनाउन ५ वर्ष अघि २०७१ सालमा पहिलो चरणमा खाडीचौरदेखी चरिकोट बजारसम्म ५५ किलोमिटरलाई दुई ओटा प्याकेजमा टुक्राएर करिब सवा अर्ब लागतमा ठेक्का लागेको थियो।

खाडीचौरदेखी मुडेसम्म २५ किलोमिटरको पहिलो खण्ड एक भारतीय ठेकेदारसंगको साझेदारीमा नेपाली कम्पनीहरु गौरी पार्वती र सुनौला खिम्तीले ठेक्कामा लिएका थिए। दोश्रो खण्ड अर्को भारतीय ठेकेदारसंगको साझेदारीमा शंकर माली निर्माण सेवाले काम गर्ने गरी जिम्मा पाएको थियो। दुबै प्याकेजमा आफ्नो देशका ठेकेदारको साझेदारी हुनुपर्ने भारतीय एक्जीम बैंकको अनिवार्य शर्तका कारण भारतीय ठेकेदार साझेदार देखिए पनि नेपाली कम्पनीहरुले नै काम गर्ने सम्झौतामा ठेक्का पाएका थिए।

पहिलो प्याकेजको सुनौला खिम्ती र त्यसका मालिक भिमसेन भण्डारी कर छली सम्बन्धी प्रकरणमा फसेपछि त्यो खण्डको काम गौरी पार्वतीले गर्दै आएको छ।

पहिलो खण्डको २५ किलोमिटर मध्ये ५ वर्षमा १३ किलोमिटर कालोपत्रे सकिएको छ भने दोश्रो खण्डमा केही रिटेनिङ वाल, तारजाली बाहेक पूर्वाधारका कामहरुकै सिन्को समेत भाचिएको छैन्। दुई पटक म्याद थप भईसके पनि ठेकेदार काममा फर्किएका छैनन्। तेश्रो पटकको म्याद थप गर्ने तयारीमा ठेकेदार पक्ष छ। शंकर माली निर्माण सेवाले लिएको यो कम्पनीका प्रबन्ध निर्देशक दिपक सापकोटा हुन्।

उनीसंग चरीकोट बजारका केही व्यवसायी र सिन्धुपाल्चोकका केही ठेकेदार पार्टनर छन्। अलपत्र पारेर हिडेको ठेकेदार कम्पनीलाई ओयोजना, जिल्लाका जनप्रतिनिधिहरुले समेत पटक(पटक काममा फर्किन ताकेता गरे पनि सापकोटाले काममा फर्किन आलटाल गर्दै आएका छन्।  

सडक बिस्तार आयोजनाका प्रमुख दिप बाराहीका अनुसार यो खण्डमा ५० प्रतिशत पनि काम सकिएको छैन। ‘नाली सहित धेरै पूर्वाधारकै काम बाँकी छ’ बाराहीले भने– ‘जसरी पनि काममा फर्किनुस् भन्दा अर्को साताबाट सुुरु गर्छु भनेर जवाफ मात्र दिनुहुन्छ, हेरौ आउदो साताबाट चाही काममा आउनुहुन्छ की’। पहिलो प्याकेजमा १२ किलोमिटर मात्र कालोपत्रे बाँकी रहेकाले त्यहाँको ठेकेदार कम्पनीलाई काममा रफ्तार बढाउन लगाइएको बाराहीले सुनाए। खबर नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस