भारतले नेपालको सीमा मिचेपछि चीनले मौनता तोड्यो

सफल खबर संवाददाता

विहीबार, २८ कार्तिक २०७६, १९ : ५४
भारतले नेपालको सीमा मिचेपछि चीनले मौनता तोड्यो

काठमाडौं । केही दिनअघि भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि प्रतिक्रिया दिएको छ । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट जारी विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता  र भौगोलिक अखण्डताको सम्मान गरेको स्पष्ट पार्दै कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यामबाट समाधान गर्ने सदिच्छा व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘चीनले बाहिरी हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको छ । र, नेपालसँग साझा विकास प्रवद्र्धन गर्न पनि चीनले चाहेको छ ।’  चिनियाँ राष्ट्रपतिले नेपालको सफल राजकीय भ्रमण गर्नुभएको स्मरण गराउँदै विज्ञप्तिमा त्यसक्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस