चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ

विहीबार, २८ कार्तिक २०७६, १७ : ४७
चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ । 

तीन जनाको सामूहिक हत्या गरेपछि फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घले र केन्द्रिय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले बुधवार राति पोखराको हेम्जाबाट पक्राउ गर्न सफल भएको हो । हत्यामा संलग्न एक जना भने अझै फरार रहेको हुँदा निजको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । हत्यामा संलग्न व्यक्तिहरु दुई सातापछि पक्राउ परेका हुन् ।

मृतकको पहिचान
चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा हत्या भएका तीनै जनाको शवको पहिचान खुलेको छ । मृतकहरुमा मोरङ जिल्ला कानेपोखरी–३ हरकपुर घर भई हाल पोखरा उपमहानगरपालिका–२५ लामाचौतारामा डेरा गरी बस्ने ३२ वर्षकी सरिता लिम्बू र निजका जुम्ल्याहा छोरीहरु सात वर्षीया गङ्गा मगर र जमुना मगर रहेको बताइएको छ । 

तीनै जना गत कात्तिक १६ गते चन्द्रकोट–३ अन्र्तगत हर्राचौरको आलुखरिया जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । उनीहरुको हालसम्म कुनै नाम थर र वतन नखुलेका कारण शवको पहिचान हुन नसेकेपछि पाल्पा अस्पतालको चिस्यान केन्द्रमा राखिएको छ ।

 हत्यामा संलग्न भएकाहरुलाई पोखराबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदै छ । उनीहरुलाई ल्याइसकेपछि मात्र पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताउनुभएको छ ।(रासस)