भारतले नक्सा सच्याउनु पर्छ : उपसभापति गच्छदार

रासस

मंगलबार, २६ कार्तिक २०७६, २१ : १५
भारतले नक्सा सच्याउनु पर्छ : उपसभापति गच्छदार

काठमाडौँ । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुुमार गच्छदारले भारतले जारी गरेको नेपालको भूमिसहितको नक्सा अविलम्व सच्याउनु पर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कालापानी, लिपुुलेक र लिम्पियाधुरा नेपालको भू–भाग भएकाले भारत सरकारले तत्काल नक्सा सच्याई अतिक्रमण गरिएको नेपाली भू–भागबाट तत्काल फिर्ता गर्नुुुपर्नेमा जोड दिनुभयो । “नेपालको एक इन्च भू–भाग पनि अतिक्रमण गर्ने कुुरा नेपाली जनतालाई सह्य हुँदैन्”, उहाँले भन्नुभयो । आफ्नो देशको भूमि अतिक्रमण गर्दा जनताले विरोध गर्नु स्वभाविक भएको उहाँले प्रष्ट पार्नुभयो । 

अतिक्रमण भएको भू–भाग र्फिता गराउने विषयमा सबै राजनीतिक दल एक भएकाले यस सम्बन्धमा सरकारले कूटनीतिक पहल गरी भारत सरकारसँग ठोस वार्ता एवं छलफल गर्नुपर्ने उपसभापति गच्छदारको भनाइ थियो । सरकारले प्रतिपक्षसँग सहमति, साझेदारी एवं  विश्वासको आधारमा राज्य सञ्चालन गरे मुलुक समृद्ध हुने उहाँले बताउनुभयो । उपसभापति गच्छदारले आगामी मङ्सिरको पहिलो हप्ताभित्र फोरम लोकतान्त्रिक र काङ्ग्रेसबीच ११ केन्द्रीय सदस्यलगायत अन्य समायोजन प्रक्रिया टुङ्गिने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस