डिल्लीबजार कारागारमा पूर्वआईजीपी रमेशचन्द ठकुरी महराको ‘रुम पार्टनर’

पत्रपत्रिकाबाट

सोमबार, २५ कार्तिक २०७६, ०८ : १२
डिल्लीबजार कारागारमा पूर्वआईजीपी रमेशचन्द ठकुरी महराको  ‘रुम पार्टनर’

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई गत सोमबार पुर्पक्षमा कारागार चलान गर्नुअघि काठमाडौं जिल्ला अदालत, प्रहरी र कारागार प्रशासनका अधिकारीबीच अनौपचारिक कुराकानी भयो ।

विषय थियो– ‘उनलाई कुन कारागार पठाउने ?’ उनलाई कुन कारागार जाने भनेर सोधियो । महराले डिल्लीबजार कारागार रोजे । जेलर अरुण पोखरेलले सबै प्रक्रिया पुर्‍याएर ‘क’ ब्लकमा पाँचजना बन्दी अट्ने ‘साझा कोठा’ मा महरालाई राखे । कारागारमा महरा प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीका ‘रुम पार्टनर’ बनेका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका ठकुरीलाई पनि चार महिनाअघि सर्वोच्चमा सोधिएको थियो– ‘कुन कारागार जान चाहनुहुन्छ ?’ उनले पनि डिल्लीबजार रोजेका थिए ।

सुडान घोटाला प्रकरणमा ०७४ वैशाख १७ मा दोषी ठहर भएपछि सम्पर्कविहीन उनी दुई वर्षपछि ०७६ असार १९ मा सर्वोच्चमा उपस्थित भएका थिए । ठकुरीलाई उनकै आग्रहमा डिल्लीबजार सदरखोर चलान गरियो । महरा र ठकुरीजस्तै ‘भीआईपी’ कैदीबन्दीहरूको रोजाइ पनि सोही कारागार छ ।

अन्य कारागारको तुलनामा चाप कम तथा पायक पर्ने लोकेसनका कारण कैदीबन्दीले डिल्लीबजार रोज्ने गरेको कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले बताए । कान्तिपुर दैनिकमा खबर छ ।