काँग्रेसका युवा नेताको सामुहिक हुँकार : ‘नेपाली भूभाग मिच्ने अधिकार कसैलाई छैन’

सफल खबर संवाददाता

आइतबार, २४ कार्तिक २०७६, १० : २५
काँग्रेसका युवा नेताको सामुहिक हुँकार : ‘नेपाली भूभाग मिच्ने अधिकार कसैलाई छैन’

काठमाडौँ । पार्टीभित्रका आन्तरिक राजनीतिमा एकजुट देखिदै आएका नेपाली कांग्रेसका ९ युवा नेताले राष्ट्रियताका सवालमा सामुहिक वक्तब्य जारी गरेका छन् ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको भूमिलाई समेत भारतीय नक्सामा समेटिएपछि नेपालमा यसको चौतर्फी विरोध भइरहेका बेला कांग्रेसका ९ युवा नेताले सामुहिक वक्तव्य जारी गरेका हुन् ।

कांग्रेसका युवा नेताहरु गगन थापा, डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे र प्रदीप पौडेलले वक्तव्य निकालेर भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि लिपुलेक र कालापानी समेतलाई भारतीय भूमिमा पारिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपालको अविभाज्य अंगलाई भारतको नक्सामा राख्ने तथा भूभाग मिच्ने अधिकार कसैलाई नभएको हुँकार गरेका छन् । उनीहरुले नेपाल सरकारलाई तत्काल भारत सरकारसँग स्पष्ट कुरा गर्न आग्रह गरेका छन् ।

नेपाली भूभाग मिच्ने अधिकार कसैलाई नभएको भन्दै कांग्रेसका युवा नेताहरुले वक्तव्यमा भनेका छन्, ‘हाम्रा पुर्खाहरुले ज्यानको बाजी लगाएर ठूलो बलिदानको मूल्यमा कायम राखेको सीमा तलमाथि गर्न खोज्ने जो कसैलाई नेपाली जनताले माफ गर्न सक्तैनन् ।’

के छ ९ भाई कांग्रेसको वक्तव्यमा ?

केही दिनअघि भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि लिपुलेक र कालापानी समेतलाई भारतीय भूमिमा पारिएको घटनाप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ ।

सन् १८१६ मा नेपाल र अंग्रेज शासित भारतबीच सम्पन्न सुगौली सन्धीले किटान गरेका महाकाली पूर्वका भूभागहरू नेपालका हुन भन्ने व्यहोराबाट ती सबै भूभागहरू नेपालका अविभाज्य अंग हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।

यस धरातलीय यथार्थलाई नजरअन्दाज गर्नु कसैको पनि हितमा हुँदैन । नेपाली भूभाग मिच्ने अधिकार कसैलाई छैन । हाम्रा पुर्खाहरुले ज्यानको बाजी लगाएर ठूलो बलिदानको मूल्यमा कायम राखेको सीमा तलमाथि गर्न खोज्ने जो कसैलाई नेपाली जनताले माफ गर्न सक्तैनन् । यस घटनाबाट अहिले ३ करोड नेपाली जनता स्तब्ध, दुःखी र आक्रोसित छन् ।

नेपाल सरकारले यस दुखद घटनाका सन्दर्भमा भारत सरकारसँग स्पष्ट कुरा गर्नु पर्दछ । यस बिषयमा सरकारले बोलाएको सर्वदलीय बैठकलाई सकारात्मक सुरुवातका रूपमा लिँदै पछिल्लो घटनालगायतका सीमा अतिक्रमणका अन्य स्थानहरूका बिषयमा समेत सार्थक, परिणाममुखी र दिगो समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण रहेको छ ।

सदियौंदेखि एक आपसका घनिष्ठ छिमेकीको रूपमा रहेका भारत र चीन दुवै देशले आपसी सद्भाव, भाइचारा, बन्धुत्व र मैत्रीपूर्ण सम्बन्धको धरातलमा उभिएर अन्तर्राष्ट्रिय नियम, प्रचलन र मान्यतालाई ख्याल गरी छिमेकी राष्ट्रहरूसँग सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।

शक्ति, बल र अभिमान प्रदर्शन गरी साना राष्ट्रहरूलाई थिचोमिचो र दुव्र्यवहार गर्न मानवता, दर्शन र हाम्रो सभ्यताले पनि हामी कसैलाई अनुमति दिँदैनन् भन्ने कुरा पनि स्मरण गराउन चाहन्छौँ ।
 

प्रतिक्रिया दिनुहोस