भक्कानिइरहन्छन् डा. केसी

पत्रपत्रिकाबाट

शनिबार, २३ कार्तिक २०७६, ०८ : ३०
भक्कानिइरहन्छन् डा. केसी

डडेलधुरा । दुर्गम अजयमेरुबाट भेट्न आएका जयबहादुर ऐर र डोटीको बान्डुग्री सैनका हिक्मत बलायर शुक्रबार दिउँसो डा. गोविन्द केसी अनशन बसेको कोठाबाट आँसु पुछ्दै निस्किए । त्यतिबेला गेटमा पहरा दिइरहेका दुई प्रहरी, कोठामा ब्लड प्रेसर जाँच्न आएकी स्वास्थ्यकर्मी र डडेलधुराकै ईश्वरीप्रसाद भाटका पनि आँखा रसाएका थिए ।

भेट्न आउनेहरूसँग कुरा गरिरहँदा डा. केसी बेलाबेला भक्कानिन्छन् । यो देखेर आउनेहरूको मन थामिँदैन । उनीहरूका आँखा रसाइहाल्छन् । शुक्रबार पनि त्यस्तै भयो, ऐर र बलायरसँगको भेटमा । ‘म आफू र आफन्तका लागि या कुनै माफियाको फाइदाका लागि अनशन बसेको हुँदै होइन,’ डा. केसी भन्दै थिए, ‘बाजुरादेखि ओखलढुंगासम्मका गरिब जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भनेर अनशन बसेको हुँ ।’

डडेलधुरा अस्पताल नजिकैको एउटा चिसो कोठामा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशन बसेका डा. केसीलाई भेट्न आउने जोसुकैलाई पनि उनी भन्न छुटाउँदैनन्, ‘संविधानले दिएको अधिकार माग्दा सरकारले अपराधी जस्तो व्यवहार गर्‍यो । राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी भएन ।’ जुन अधिकार जनताका नाममा नेताले सहजै उपभोग गरिरहेका छन्, त्यो अधिकार सर्वसाधारणले नपाएको डा. केसीको आरोप छ ।

‘स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्रबाट हुने अवैध आम्दानीका कारण यसको सुधारका लागि कुनै पनि सरकारले उत्साह देखाएनन्,’ उनले गुनासो गरे । विगतका सरकारले आफूसँग के कस्ता सम्झौता गरे ? प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका कस्तो रह्यो ? आफ्ना मागप्रति दलका शीर्ष नेताले कस्तो व्यवहार गरे भन्नेलगायत विवरण सुनाउँदा उनी आफैंलाई सम्हाल्न सक्दैनन् । र, भक्कानिन्छन् ।

अनशन बसेको पाँचौं दिनसम्म राज्यका निकाय र जनप्रतिनिधिले डा. केसीका मागमा चासो देखाएका छैनन् । ‘यति पवित्र भावना बोकेर जनताका लागि लड्ने अभियन्ता मैले कमै देखेको छु,’ भाटले भने, ‘डा. केसीका विचार सुनेर सेवाको परिभाषा के हो भन्ने बुझ्न पाएँ ।’ उनको आफ्नो भन्नु कोही छैन ।

जे छ गरिब जनताका लागि हो । जीवनभरि उनले जे गरे, सबै सेवाभावबाट गरेको गरेको भाटको बुझाइ छ ।कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस