दिल्ली प्रदूषणको प्रभाव नेपालमा पनि

पत्रपत्रिकाबाट

बुधबार, २० कार्तिक २०७६, ०७ : २८
दिल्ली प्रदूषणको प्रभाव नेपालमा पनि

फाईल फोटो

काठमाडौ । भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ। नेपालको पश्चिम तराईका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भू–भागमा भारतीय वायुको आंशिक प्रभाव पर्न थालेको छ।

उहाँले भन्नुभयो– ‘अहिले भारतीय वायुको ठूलो र भयावह प्रभाव परेको छैन तर पश्चिम तराईमा प्रत्यक्ष/अप्रत्यक्षरूपमा धूलोका कण मिश्रित वायु आइरहेको हुन्छ।’

नेपालका तराईका भू–भागमा काठमाडौं उपत्यका र अन्यत्रका पहाडी भेगको मौसम धुमिए पनि अहिले दिल्लीको वायुको प्रभाव नपरेको पौडेलको भनाइ छ।

भारतकै उत्तर प्रदेश र विहारको वायुले सामान्य अवस्थामा समेत नेपाल भित्रिने गरेको वातावरणविद्ले बताए।उद्योग, कलकारखाना र सवारीबाट निस्कने धूलो, धूवाँ, घरायसी र अन्य प्रयोजनका लागि बालिने आगोका कारण यो मौसममा नेपालभित्र पनि प्रदूषण बढ्ने गरेको उनीहरूको ठहर छ।

केही दिनयता सौराहा, सिमरा, लुम्बिनी, नेपालगन्ज आसपासमा वायु प्रदूषण बढेको पाइएको वातावरण विभागका अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस