किन सक्रिय भए एकाएक प्रधानमन्त्री ओली ?

यसका दुई कारण हुनसक्छन्– पहिलो आफु अस्वस्थ्य नभएको सन्देश दिन र दोश्रो, सबै  निर्णय गराएर पद छोड्न्

सफल खबर संवाददाता

सोमबार, १८ कार्तिक २०७६, ०७ : ४६
किन सक्रिय भए एकाएक प्रधानमन्त्री ओली ?

काठमाडौं । तीन दिन अगाडी लगातार दुईपटक मृगौलाको डायलसिस गराएका प्रधानमन्त्री केपी ओली आइतबार दिनभर निक्कै सक्रिय भए । मृगौलाले काम नगरेको, नियमित डायलसिस गर्नुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले शनिबारको पार्टी सचिवालय वैठकमा आफु सिकिस्त नभएको तर मृगौलाले काम नगरेको स्वास्थ्य अवस्थाको विफ्रिङ गरेका थिए ।

आइतबार पनि प्रधानमन्त्री ओली तेश्रो पटक डायलसिसका लागि जाने चर्चा  बिहानै चलेको थियो । ओलीले मन्त्रिपरिषद वैठक देखि पार्टी वैठकसम्मका कार्यक्रम राखेका थिए ।

यसको सन्तुलन ओलीले कसरी मिलाउँलान् ? आम मान्छेको जिज्ञासा थियो । तर ओलीले आइतबार दिनभर आफनो सक्रियता बढाएका छन् । आज सोमबार पनि उनले आफनो ब्यस्त दैनिक कार्यतालिका तयार पारेका छन् ।

आइतबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओभास्कुल तथा थोरासिक सेन्टरमा पुगेर छातीको एक्सरे गराएका प्रधानमन्त्री त्यहाँबाट बालुवाटार फर्किएपछि लगातार बैठक र भेटघाटहरुमा व्यस्त रहे ।

सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखे । सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने, नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गराए । त्यसपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे । अनि पार्टी सचिवालय वैठक राखेर उपचुनावको उम्मेदवार टुंगो लगाए ।

बेलुकी नै पूनः मन्त्रिपरिषद वैठक राखेर प्रदेश प्रमुख तोक्ने खाजेपनि पार्टीभित्र सहमति नबनेका कारण हिजो बेलुकीलाई बोलाएको वैठक उनले आज विहान ११ बजेलाई सारे ।

आज पनि ओलीले मन्त्रिपरिषद वैठक अगाडी पार्टी अध्यक्ष प्रचण्डसँग अलग्गै छलफल गर्ने , त्यसपछि फेरि सचिवालय वैठक वस्ने तय गरी कार्यक्रम तय गरेका छन् । ओलीले एकाएक किन यसरी आफनो सक्रियता बढाए ?

अनि २१ महिनामा पार्टीमा छलफल चलेपनि ओलीले निर्णय नगरेको प्रदेश प्रमुख लाई पदमुक्त गर्ने देखि अन्य राजनीतिक निर्णय धमाधम किन गर्न लागि परे ? राजनीतिक वृत्तमा अनेकखाले टिप्पणी भईरहेका छन् ।

ओलीले आफनो स्वास्थ्य अवस्थालाई ख्याल गरेर पद छोडनु उपयुक्त हुने तर्क राजनीतिक वृतमा भईरहेका बेला ओलीको बढेको सक्रियतालाई लिएर दुई खाले तर्क अगाडी आएको छ ।

पहिलो, प्रधानमन्त्री ओलीले आफुलाई अस्वस्थ्य रहेको र पद छोडेर सहज निकास दिनुपर्ने र आफनो स्वास्थ्यको ख्याल राख्नुपर्ने भनी भईरहेको टिप्पणी प्रतिको जवाफ दिन चाहेका छन् । आफु अस्वस्थ्य नरहेको सन्देश दिनका लागि ओली निक्कै सक्रिय भएका हुन् ।

‘पहिलो त प्रधानमन्त्रीले आफु अस्वस्थ्य नरहेको र काम गर्न सक्ने सन्देश आम देशवासीलाई दिन खोजेका हुनसक्छन्,’ एक जना राजनीतिक विश्लेषक भन्छन्,–‘दोश्रो भने आफुले पद छोडनै परेपनि भएभरका राजनीतिक नियुक्ति गर्ने, अन्य महत्वपूर्ण निर्णयहरु पनि लिने र मात्र पद छोडन परे छोडने योजनामा प्रधानमन्त्री हुनसक्छन् ।’