देवघाटमा प्रचण्ड

जनताको धार्मिक आस्थालाई हृदयदेखि सम्मान गर्छौं : प्रचण्ड

सोमबार, २२ माघ २०७४, १६ : ५२
जनताको धार्मिक आस्थालाई हृदयदेखि सम्मान गर्छौं : प्रचण्ड

देवघाटधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले जनताको धार्मिक आस्थालाई हृदयदेखि सम्मान गरेको बताउनु भएको छ । गलेश्वर आश्रम देवघाटधामले आयोजना गरेको धनधान्याचल विराट महायज्ञमा सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।

हामीले जनताको धार्मिक आस्था र स्वतन्त्रतालाई सम्मान गरेका छौँ, आफूलाई धर्मविरोधी भनी भ्रम छर्ने गरिएको बताउँदै प्रचण्डले भन्नुभयो, हामीले सबैखाले धार्मिक आस्थाको सम्मान गर्छौं । राज्यले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न हुँदैन भन्नेमात्र हो । नेपालमा धार्मिक, साँस्कृतिक, जातीय र परम्परागत विविधता छ । विविधतामा एकता नै नेपालको पहिचान हो ।

देवघाटधामलाई ऐतिहासिक धार्मिक तीर्थस्थल बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले आफू बाल्यकालमा बाबुआमासँग पहिलोपटक देवघाट आएको स्मरण गर्नुभयो । उहाँले देवघाटधाममा आफ्नी फुपु र सासु बस्दै आउनु भएको बताउँदै विगतमा भूमिगत रहँदा श्रीमतीसहित थुप्रै पटक देवघाट आएको खुलासा गर्नुभयो । म धेरै पटक देवघाट आएको छु, उहाँले भन्नुभयो, त्यसैले मलाई यहाँ बस्नुुहुने वृद्धवृद्धाको दुःख र समस्या थाहा छ । त्यसलाई निराकरण गर्न मेरो साथ र सहयोग रहनेछ ।

आफू देवघाटमा आएर बस्ने समय नभएको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, म देवघाट आएर बसेँ भने राष्ट्रले दुःख पाउँछ । हामी सबैले दुःख पाउँछौं । मैले केन्द्रमा बसेर देवघाटको विकासका लागि काम गर्ने हो । तपाइँहरु देवघाटवासीको सुखका लागि काम गर्ने हो । देवघाटधाममा रहेका मन्दिर, आश्रम र विद्यालयहरुको स्तरोन्नतिका लागि सदैव मेरो सहयोग रहनेछ ।

देवघाटवासीले भोग्नु परेको बाँदर आतंकको बारेमा आफू जानकार रहेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले देवघाटमा रहेका बाँदरलाई बर्दियाको जंगलमा लगेर छाड्ने हो भने यो समस्याबाट छुटकारा पाइने बताउनु भयो । उहाँले बाँदर व्यवस्थापनको उपाय बाँदर पार्क पनि भएको बताउँदै त्यसका लागि केही वर्ष समय लाग्ने भएकोले बाँदरलाई बर्दिया लगेर छाड्नु नै सजिलो उपाय भएको विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले धार्मिक पर्यटनको विकासका लागि देवघाटधामलाई भारतका मठ, मन्दिर र आश्रमभन्दा बढी विकसित गर्न सकिने बताउनु भयो । उहाँले देवघाटधामलाई विश्वकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सबैले संकल्प गर्नुपर्ने बताउनु भयो । आध्यात्मिकता, त्यसमाथिको चिन्तन, मूल्य र मान्यताले नैतिकता र अनुशासन, समाजमा शान्ति सुव्यवस्था र आदर्श स्थापना गर्न सकिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस