रुकुमपूर्व । सम्झौता अवधि सकिँदासम्म पनि रुकुमपूर्वमा एक मोटरेबल पुल निर्माणको काम शुरु हुनसकेको छैन ।
पुल निर्माणको जिम्मा लिएको कम्पनीले पुल निर्माणको सम्झौता अवधि सकिँदासम्म पनि काम शुरु नगर्दा जिल्लाको सिस्ने गाउँपालिका वडा नं २, ३ र ४ का नागरिकलाई सदरमुकाम रुकुमकोट आवतजावत गर्न समस्या भएको छ ।
लामो समय बितिसक्दा पनि सानीभेरी नदीमाथि बन्नुपर्ने पुल बन्न नसक्दा सिस्ने गाउँपालिकाका २, ३ र ४ वडाका सडक सञ्जालमा सदरमुकाम रुकुमकोटसँग जोडिन सकिरहेका छैनन् । जसले गर्दा उक्त रुट भएर आउजाउ गर्ने सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।
विसं २०७५ को असारमै पुल निर्माणको काम सक्नेगरी सम्झौता भएको थियो । तर, हालसम्म पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको छ । विसं २०७३ असार ३१ मा हेटौँडाको मृत सञ्जीवनी निर्माण सेवाले दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेे गरी सम्झौता गरेको थियो । तर सो पुलको निर्माण कार्य भने अहिलेसम्म शुरु गरिएको छैन । कूल रु नौ करोड २० लाखको लागतमा निर्माण हुने सो पुलको निर्माण कार्य शुरु नगरेपछि सिस्ने गाउँपालिकाले ठेक्का लिएका निर्माण कम्पनीको ध्यानाकर्षण गराएको छ ।
आफूहरुले पटक–पटक सम्बन्धित पक्षलाई पुल निर्माणको कामलाई गति दिन भनिरहेको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढाले बताउनुभयो । “पुल नबनेर जनताले धेरै सास्ती पाएका छन्”, उपाध्यक्ष बुढाले भन्नुभयो, “उक्त मार्ग भएर आवतजावत गर्ने ३ र ४ नं वडावासीलाई गाउँपालिका केन्द्र रुकुमकोट पुग्न समस्या भएको छ ।” पुल निर्माण कार्यलाई छिटो गति दिन आग्रह गरिरहेको उपाध्यक्ष बुढाको भनाइ छ ।
पुल निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले भने नदीको एकापट्टि सडक नपुगेकाले निर्माण सामग्री ढुवानीमा समस्या भएर काममा ढिलाइ भएको बताएको छ । सम्झौताअनुसार काम गर्न नसकिए पनि अब छिट्टै पुल निर्माणको काम शुरु गरिने निमार्ण कम्पनीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ कार्तिक २०७६, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिराहा र धनुषा जोड्ने कमला पुलको काम धमाधम, चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
माडी–ठोरी सडकखण्डमा निर्माणाधीन पुलको ठेक्का तोडियो
चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै
सत्र करोडमा पक्की पुल निर्माण
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता