नेपालको दोस्रो लामो पुल निर्माण पूरा

रासस

बुधबार, १३ कार्तिक २०७६, १० : ५६
नेपालको दोस्रो लामो पुल निर्माण पूरा

तुलसीपुर । नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो । 

पुलको लम्बाइ ८६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । झण्डै रु एक अर्ब लागतको उक्त पुल ‘अनक निर्माण सेवा’ले निर्माण गरेको हो । आर्थिक वर्ष २०७२÷७३ देखि निर्माण कार्य शुरु भएको सो पुल  आव २०७६÷७७ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुल निर्माण योजना कार्यान्वयन गराउने निकाय पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिलबाबु पन्तका अनुसार सम्झौता अवधि पूरा हुन चार महीना अघि काम सम्पन्न भएको छ ।

अहिले पुलसम्म पुग्न सडक निर्माण भइरहेको छ । पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो । “पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो भएको थियो । बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था हुँदैनथ्यो”, पन्तले भन्नुभयो, “भनेको बेला सवारीसाधन नपाउँदा हैरानी हुन्थ्यो ।”

पुल निर्माण पछि आयआर्जनमा टेवा पुग्नेछ । देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यहाँ प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम सञ्चालनमा छ । पुलको अभावमा किसानले उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् । पुल निर्माण भएसँगै राप्ती नदीपारिका किसानलाई कृषि उत्पादनको बजारीकरण गर्न सहज भएको छ ।