‘हामी यस्तै त हो नी ब्रो’ गीतका गायक घिसिङलाई ७ दिन म्याद थप

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, ०७ : २३
‘हामी यस्तै त हो नी ब्रो’ गीतका गायक घिसिङलाई ७ दिन म्याद थप

‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले बिहीबार ¥यापर समीर लामा, घिसिङलाई पक्राउ गरेको छ । 

चन्द्रनिगाहापुर घर भई हाल ललितपुर बस्ने घिसिङलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरूपयोगसमेत गरेको पाइएको छ । घिसिङविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताए । 

कसुर पुष्टि भए एक वर्ष कैद वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दुई दिन अघि मात्रै उच्छृङ्खल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेस थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो । गृह मन्त्रालयले उच्छृङ्खल र समाजलाई भड्काउने खालका गीत गाए तथा उत्पादन गरे कारवाही गर्ने विज्ञप्तिमार्फत सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस