‘सक्किगो नि’ टेलिशृङ्खलाको लोकप्रिय चरित्रविरुद्ध प्रहरीमा उजुरी

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, १४ : ००
‘सक्किगो नि’ टेलिशृङ्खलाको लोकप्रिय चरित्रविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । ‘सक्किगो नि’ टेलिशृङ्खलाको लोकप्रिय चरित्रविरुद्ध प्रहरीमा उजुरी परेको छ । चर्चित हास्य सिरियल ‘भद्रगोल’ बाट छुट्टिएर नयाँ कार्यक्रम ‘सक्किगो नि’ निर्माण गरेका कलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’विरुद्ध प्रहरीमा उजुरी परेको हो । 

‘सक्किगो नि’ नामक टेलिशृङ्खलामा ‘भद्रगोल’मा प्रयोग भएका ‘जिग्री’ र  ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र हुबहु भएको र त्यो गर्न नपाउने दाबीसहित ‘भद्रगोल’ निर्माण संस्था मिडिया हव प्रहरीमा पुगेको हो ।

‘भद्रगोल’मा प्रयोग भएका पात्र हुबहु प्रयोग नगर्न ‘सक्किगो नि’ निर्माण संस्था जेपिटी क्रियसन र त्यसका कलाकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि अटेर गरेको कारण आफू न्यायका लागि प्रहरीमा आएको मडिया हवका मालिक सोम धितालले जानकारी दिए । 

‘यो हाम्रो दुई शृङ्खला बीचको लडाईँ होइन,’ धितालले भने ‘आफूले लगानी गरेको शृङ्खलाको पात्र र चरित्र आफैमा सुरक्षित हुनुपर्छ भन्ने मेरो माग हो ।’

‘सक्कियो नि’मा आफूहरुले प्रयोग गरेको पात्र र चरित्र आफ्नो भएकोले जुनै शृङ्खलामा पनि प्रयोग गर्न पाउने कलाकार कुमार कट्टेले ‘जिग्री’ले बताए । सामाजिक सञ्जाल फेसबुकमा आक्रोस पोख्दै जिग्रीले लेखेका छन्, ‘यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्‍नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हातमा हत्कडी नै लगाएर थुनिदिनुस् ।’

हामीले मिडियाहवसँग मिलेर कार्यक्रम गर्दा पनि सहमतिमा पात्र र चरित्र हामीमै रहने भनेर एग्रिमेन्ट गरेका छौँ,’ कुमारले भने, ‘एग्रिमेन्ट अवधि भरमा हामीमा सुरक्षित भएको पात्र एग्रिमेन्ट सकिएपछि कसरी मिडिया हवको हुन्छ ?

पछिल्लो समय मिडियाहवले तत्कालीन ‘भद्रगोल’ निर्माण खर्च दिन आनाकानी गर्दै निर्माण भएका धेरै भागको पनि खर्च दिन बाँकी राखेपछि  त्यससँग सम्बन्धित कलाकार मिडिया हवबाट छुट्टिएका थिए ।

पछि जेपिटी क्रियसन बनेको थियो । कलाकार छुट्टिएपछि मिडिया हवले अन्य कलाकार लिएर ‘भद्रगोल’ निर्माण तथा प्रसारण सुरु गरेको थियो । त्यसको केही समयपछि जेपिटी क्रियसनले पनि पुरानो भद्रगोलका कलाकार लिएर ‘सक्कियो नि’ निर्माण गरेको हो ।

जेपिटी क्रियसनले सुरु गरेको ‘सक्कियो नि’ अहिलेसम्म करिब ५ भाग मात्र प्रशारण भएको छ । 

प्रतिक्रिया दिनुहोस