म्याजिक भ्यानमा छुटेको १३ लाखसहितको ब्याग फिर्ता

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, १२ : ३६
म्याजिक भ्यानमा छुटेको १३ लाखसहितको ब्याग फिर्ता

चितवन । भरतपुरमा म्याजिक भ्यान चलाउँदै आएक एक जना चालकले सवारीमा छुटेको यात्रुको नगदसहितको ब्याग सम्बन्धित धनीलाई बुझाएका छन् । चालक कालिका नगरपालिका ३ का २२ वर्षीय सुरेस गुरुङले भरतपुर ८ की ६२ वर्षीय सुमित्रा राणाको नगद १३ लाख रुपैँया सहितको ब्याग बुझाएका हुन् । 
आइतबार दिउँसो पौने तीन बजेको समयमा सहिदचोकबाट हाकिमचोकतर्फ गइरहेको ना १ ज ७९०१ नम्बरको म्याजिकमा एउटा कालो रङको लेडिज ब्याग छुटेको थियो । उक्त ब्याग भरतपुर ८ की ६२ वर्षीया सुमित्रा राणाले प्यासिन्जर सिटमा राखेकै ठाँउमा बिर्सिएर छाडेकी थिइन् । 
सोही समयमा म्याजिकमा यात्रारत अर्का यात्रु झापा भद्रपुर ८ का २२ वर्षीय निरन्जन भट्टराईले छुटेको ब्याग देखेपछि म्याजिक चालक गुरुङलाई जानकारी गराए । म्याजिक चालक गुरुङ र यात्रु भट्टराई उक्त ब्याग लिएर जिल्ला प्रहरी कार्यालय चितवनको सम्पर्कमा पुगे । 
प्रहरी नायब उपरीक्षक सालिकराम पौडेलको रोहवरमा ब्याग खोलेर हेर्दा नगद १३ लाख रुपैँया, एउटा मोबाईल र अन्य सामान फेला परेको थियो । त्यसपछि सम्बन्धित धनीलाई बोलाएर नगद र मोबाईलसहितको झोला जिम्मा लगाइएको थियो । 
इमान्दार व्यक्तिहरुका कारण आफुले हराइसकेको नगद पाएको भन्दै सुमित्राले म्याजिकका चालक र यात्रुलाई धन्यवाद दिएकी थिईन् । खुसी हुँदै सुमित्राले भनिन्, ‘सबै मानिस इमान्दार हुने हो भने कोही पनि दुःखी हुनु पर्ने थिएन ।’

प्रतिक्रिया दिनुहोस