राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान

रासस

आइतबार, २६ असोज २०७६, २० : २५
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिनुभएको थियो । नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उहाँको मुद्रा खुसी देखिन्थ्यो ।

 

आज स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँको बिदाइ स्वरुप आयोजना गरिएको मौलिक नृत्यमा उहाँ केही बेर टक्क अडिनु भयो । नृत्य अवलोकनका समय उहाँको मुहारमा मन्द मुस्कान झल्किएको भयो । उहाँका सामु कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउरे, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरेका थिए ।

 

त्यसो त नेपाली मौलिक पोशाकमा सजिएर उहाँको बिदाइमा लामबद्ध विद्यार्थी र बालबालिकासँग औधी रमाउँदै उहाँले केही बेर भलाकुसारीसमेत गर्नुभयो । बालबालिकाले चिनियाँ भाषाको प्रयोग गरेर नेपाल भ्रमण गर्नुभएकोमा यहाँलाई धेरैधेरै धन्यवाद भन्दै भेट्न पाएकोमा खुसी व्यक्त गर्दा र बिदाइको हात हल्लाउँदा चिनियाँ भाषामै उहाँले बालबालिकालाई धन्यवाद फर्काउनुभएको थियो ।

 

विमानस्थलको विशिष्ट कक्षमा बालबालिका र विद्यार्थीले नेपाली र चिनियाँ झण्डा फहराएर शनिबार उहाँको स्वागत र आइतबार बिदाइ गरेका थिए । स्वागतका क्रममा बालबालिकासँग निक्कै खुसी देखिनुभएको राष्ट्रपति सी बिदाइका क्रममा नेपालको सातै प्रदेशको पहिचान झल्कने मौलिक पोशाक लगाएर कलाकारले प्रस्तुत गरेको नृत्यमा भरपुर मनोरञ्जन लिनुभयो ।

 

एक जना बालिका भिन्तुना श्रेष्ठ चीनका राष्ट्रपति सीलाई नजिकबाट देख्न र आफ्नो मौलिक पहिचान देखाउन पाउँदा निक्कै खुसी लागेको प्रतिक्रिया दिनुभयो । सीको शारीरिक हाउभाउले नै नेपालीको न्यानो स्वागत र मौलिक नृत्यबाट प्रभावित भएको प्रष्टिन्थ्यो । त्यसो त शनिबारको रात्रीभोजका क्रममा उहाँले नेपालीको सामाजिक सद्भाव देख्दा हर्षित भएको प्रतिक्रिया दिनुभएको छ ।

 

त्यसो त दुईदिने भ्रमणका क्रममा आउँदा र जाँदा नै विमानस्थलदेखि राष्ट्रपति भवन र निवास होटल सोल्टीको सडकसम्मै सजाइएको दृष्यले उहाँलाई प्रफुल्लित बनाएको विश्वास गर्न सकिन्छ । राष्ट्रपति सीले विमानस्थलमा प्रवेश गर्नुअघि विशिष्ट कक्षको अन्तिम द्वारमा पुगेपछि पुनः फर्किएर हात हल्लाउँदै सबैलाई अभिभावदन गर्दा विशिष्ट कक्ष बिदाइका स्वरले गुञ्जिएको थियो । सो क्रममा कलाकार र बालबालिकाले पुष्पगुच्छा र दुवै देशको झण्डा फहराएर बाईबाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस