चीनका राष्ट्रपति सि जिनपिङको आसन्न नेपाल भ्रमण कम्युनिष्ट सरकारको उपलब्धि : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १४ : ०८
चीनका राष्ट्रपति सि जिनपिङको आसन्न नेपाल भ्रमण कम्युनिष्ट सरकारको उपलब्धि : प्रचण्ड

File photo : Surya Prakash Kandel

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनका राष्ट्रपति सि जिनपिङको आसन्न नेपाल भ्रमणलाई सरकारको उपलब्धिका रुपमा लिनु भएको छ ।
चितवनको माडीमा शुक्रबार आयोजित कम्युनिष्ट नेता दिवाकर भुषालको १६औं स्मृति दिवस तथा समृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सरकारको उपलब्धि भएको बताउनु भयो ।
‘चिनियाँ राष्ट्रपति सि जिनपिङको यो भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्छ’ उहाँले भन्नुभयो, ‘बाटो, उद्योग, औद्योगिक पार्क बनाउने सन्दर्भमा चीनसँग सम्झौता हुँदैछ । यो भ्रमण ऐतिहासिक हुने कुरामा हामी विश्वस्त छौं । २३ वर्षपछि चिनियाँ राष्ट्रपबिाट नेपाल भ्रमण हुँदैछ । २३ वर्षमा राजनीतिमा धेरै ठूलो परिवर्तन भएको छ । निरंकुश राजतन्त्रलाई बिदा गरिएको छ । मुलुक समाजवाद उन्मुख अवस्थामा छ ।’
चीनमा पनि कमरेड सि जिनपिङको नेतृत्वमा त्यहाँको सरकारले जनताको पक्षमा अभूतपूर्व विकास गरेर संसारकै दोस्रो ठूलो आर्थिक शक्तिको रुपमा आफूलाई उभ्याएको अध्यक्ष प्रचण्डको भनाइ थियो । चीन विश्वकै पहिलो शक्तिराष्ट्र बन्ने दिशामा अगाडि बढेको अध्यक्ष प्रचण्डले दाबी गर्नुभयो ।

मणि बन्नेछ माडी
अध्यक्ष प्रचण्डले पाँच वर्षभित्र माडीलाई मणि बनाइने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ‘माडीलाई मणि बनाउने कुरा बिर्सेको छैन’ उहाँले भन्नुभयो, ‘२०२९ सालको वन ऐन संशोधन हुँदैछ, त्यसले माडीवासीलाई फाइदा पु¥याउने छ । माडीमा अर्गानिक खेतीको आयोजना ल्याउने पहल भइरहेको छ । आकासे पुल, भूमिगत बाटो वा राम्रो पिच बाटो माडीमा जसरी पनि बनाउँछौं । माडीको निम्ति संघर्ष मेरो सफलतासँग पनि जोडिएको छ । तपाइँहरुको सहयोग मलाई चाहिन्छ ।’
मानिसहरु जन्मेपछि मर्ने कुरा प्रकृतिको शाश्वत नियम भएको तर सबैको मृत्यु एकैनासको नहुने अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘कसैकसैको मृत्युले लाखौंलाई उद्वेलित र उत्प्रेरित गर्छ’ उहाँले भन्नुभयो, ‘कमरेड दिवाकर भुषालको मृत्युले पनि अमरत्व प्राप्त गरेको छ । उहाँले सामाजिक न्याय, स्वतन्त्रता, समानता र निष्ठाको लागि काम गर्नुभयो ।’
अध्यक्ष प्रचण्डले दिवाकर भुषालको पूर्ण कदको शालिक अनावरण समेत गर्नु भएको थियो । त्यसअघि उहाँले माडीको अयोध्यापुरीमा रहेको अस्पतालमा नवनिर्मित शल्यक्रिया कक्षको उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा अध्यक्ष प्रचण्डले अस्पताललाई ५० शैयाको बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

भुषाल राजनीतिक आदर्श
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले दिवाकर भुषाल आफ्नो राजनीतिक आदर्श भएको बताउनु भयो । उहाँले भुषालको आदर्शलाई व्यवहारमा उतार्दै अगाडि बढेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गर्नुभयो । पार्टीको एकीकरण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उहाँले त्यसपछि विकास र समृद्धिले फड्को मार्ने बताउनु भयो ।
पार्टीका महासचिव विष्णु पौडेलले अबको युग विकास र समृद्धिको युग भएको बताउनु भयो । उहाँले अध्यक्ष प्रचण्डको नेतृत्वमा माडी मणि बनेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । भुषालको आदर्शलाई पूरा गर्न सिंगो पार्टी लाग्नु पर्ने उहाँको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला इन्चार्ज कृष्ण खनाल, माडी नगरपालिका प्रमुख ठाकुर ढकाल लगायतले भुषालको योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस