आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय तमु सम्मेलन

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १० : २२
आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय तमु सम्मेलन

काठमाडौं । आदिवासी तमुहरुको छाता संगठन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा तमुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । आज र भोलि चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा १७ वटा देशका प्रतिनिधिहरु सहभागी हुँदै छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा हुने सम्मेलनको उद्घाटन सत्रपछि दुई दिन ‘एकता, पहिचान, अस्तित्व र समृद्धि’ को छुट्टछुट्टै शीर्षकमा कार्यशाला सञ्चालन हुनेछ । आयोजकका अनुसार साँझमा भने तमुहरुको संस्कार, संस्कृति झल्किने खालका साँस्कृतिक कार्यक्रम देखाइने छ ।

छोंज धिंका अध्यक्ष रेशम गुरुङका अनुसार, सम्मेलनले विश्वभर छरिएर रहेका तमुलाई एकताबद्ध बनाउने, तुमहरुबीच भाइचारको सम्बन्ध स्थापित गर्ने र तमु समुदायको संस्कार संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सचेतना जगाउने प्रमुख उदेश्य राखेको छ ।

तमुहरुको मुल थलो गण्डकी प्रदेश भएपनि हाल नेपाल भरी मात्र होइन, विश्वका धेरै मुलुकहरुमा स्थायी र अस्थायी बसोबास गर्दै आएका छन् । विशेष गरेर तमुहरु नेपाल बाहिर भारत, भुटान, वर्मा, बेलायत, मलेसिया, सिंगापुर र जापानमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस