दसैँका गीत, जसले सदाबहार जिते

सफल खबर संवाददाता

सोमबार, २० असोज २०७६, ०७ : २७
दसैँका गीत, जसले सदाबहार जिते

काठमाडौं । दसैँको समयमा दर्जनौ गीतहरु आइरहेका छन् । कति कालजयी छन् । कति आउन नपाई हराएका छन् । यस्ता केही गीतहरु छन्, जसलाई हालसम्म आएका सयौँ गीतले जित्न सकेका छैनन् । 

यूट्युबमा सार्वजनिक हुने गीतहरू रेडियो र टेलिभिजनमा पनि बज्छन् । तर पनि रेडियो टेलिभिजनमा दसैंका पुराना केही गीतकै दबदबा बढी देखिन्छ । नयाँ गीतले पुराना कालजयी गीतलाई जित्नै सकेको छैन । पुराना गीतले नै कव्जा गरिरहेको छ ।

दसैैंका केही यस्ता गीत छन्, जुन कालजयी बनेर स्रोता, दर्शकको मुखमा झुण्डिएका छन् । जसलाई दसैंका सदावहार गीतका रुपमा लिन सकिन्छ । यी गीतहरुलाई जित्ने गीत हालसम्म आएका छैनन् । 

१) ‘नमुछे आमा दहीमा टीका ...’ 
साहै्र मार्मिक गीत । यो गीतलाई जित्ने गीत सायदै होला । ‘नमुछे आमा दहीमा टीका ...’ दशैं आउने बित्तिकै धेरैले सम्झिने कालजयी गीत सुन्दा जो कोहीको आँखा आँसुले भरिन्छ । यस गीतको शब्द वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले लेखेका हुन् ।
परदेशी छोराले घरमा रहेकी आमालाई दशैंमा जमरा नछर्न र दहीमा टीका नमुछ्न आग्रह गरिएको गीतले आज नेपालीको मर्म गाएको छ । नेपाली युवाहरुको परदेशीनु पर्ने बाध्यतालाई यस गीतले समेटिएको छ । छोरो विदेश भासिएको छ, ऊ दसैँमा आउन पाउँदैन । अनि उसले भन्छ,  ‘नमुछे आमा दहीमा टीका....।
यस गीतलाई शुरूमा नारायण रायमाझीले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराएका थिए । पछि २०५७ सालमा दृष्टिविहीन गायक कृष्णभक्त राईले लक्ष्मी न्यौपानेसँग आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलियो । यस गीतलाई पछि प्रशान्त तामाङले पनि चलचित्रका लागि गाएका छन् ।
नारायण रायमाझीको संगीतमा कृष्णभक्तले रेकर्ड गराएपछि एकाएक चर्चामा पुगेको यो गीत दसंैका सदावहार गीतमध्ये सबैभन्दा मार्मिक गीत बनेको छ । 

२) ‘यसपालि त यस्तै भो आमा ...’
यो गीत दसैँको अर्को कालजयी गीत हो । जनगायक जीवन शर्माले स्वर भरेको ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा’ बोलको गीतले विदेश गएका छोराछोरीको पीडा बताएको छ । यस गीतमा दसैँमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको विरह पोखिएको छ । 
जब छोरो विदेशमा पसिना बगाउँछ । दसैँ मुखमा आउँछ । गाउँघर छिमेकका विदेश गएका छोराहरु गाउँ फर्कन थाल्छन् । आफ्नो छोरो फर्कदैन । बूढी आमाले छोरालाई भन्छिन्, ‘दसैँमा आउँदैनस् बाबु ?’ छोराले भन्छ, ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउला है दसैँमा...।’ ज्यादै मार्मिक गीत हो यो दसैँको । यो गीत आज पनि कालजयी बनिरहेको छ । 

३) ‘फौजीको दसैँ......’
यो गीत पनि दसैँको कालजयी गीत हो । ‘फौजीलाई कुन हो दसैँ कुन हो चाड तिहार ...’ बोलको गीत फौजीमा रहेका नेपालीको दसैँतिहारको सन्दर्भलाई समेटेर तयार गरिएको हो । यो गीत दसैँतिहारमा निकै बज्ने गर्दछ । दीपक कोइरालाले शब्दमा जगदीश समालले स्वर भरेका छन् । गीतमा गैरे सुरेशको संगीत रहेको छ । सुरक्षाकर्मीहरु दसैँमा पनि जनताको सुरक्षामा खटिएका हुन्छन् । उनीहरुलाई बिदा मिल्दैन । अनि भन्छन्, ‘फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार ...’ गीतले दसैं र तिहारमा पनि घर जान नपाउने फौजीको पीडा बोल्छ । यो गीतले ५ वर्षदेखि दशैं तिहारमा रेडियो टेलिभिजनमा स्थान पाउँदै आएको छ ।

४) ‘दसैँ आयो....’
यो गीत पनि कालजयी गीत हो । चलचित्र ‘मुग्लान’मा समावेश ‘दसैँ आयो’ बोलको गीतले दसैँको मर्म बोकेको छ । लोकनाथ सापकोटाको शब्द रहेको यस गीतमा उदितनारायण झा र दीपा झाले स्वर भरेका छन् । परदेश गएको छोरा घर आउने दिन कुर्दै औंला भाँचेर पर्खिरहेको, घर छाडेका परदेशी फर्केपछि परिवार र आफन्तमा छाएको खुशी, आमाले छोरो आउने बाटो कुर्ने वर्णन, जमरा, रातो टीकादेखि गाउँघरमा पिङ खेलेका कुरा गीतमा समावेश गरिएको छ ।
त्यति मात्र होइन, गीतमा निधारमा रातो टीका र कानमा सिउरिने पहेंलो जमराले दिने चमक र त्यसको महत्वलाई पनि गीतमा समेटिएको छ । गीतको भिडियोमा दिलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापालगायतको अभिनय छ ।

५) ‘दसैँ नै हो कि यो मेरो दशा....’
योगेस्वर अमात्यको स्वरमा ‘दशैं नै हो कि यो मेरो दशा’ बोलको गीत पनि उत्तिकै मर्मस्पर्शी छ । प्रेम बस्नेतको शब्द, न्ह्यू बज्राचार्यको संगीतमा बजारमा आएको यो गीत करीब २ दशक अगाडि रेकर्ड भएको गीत हो । 
निम्न आयस्रोत भएका परिवारलाई दसैँ उत्सवभन्दा पनि दसा बनेर आउने गरेको तीतो यथार्थ गीतले बोलेको छ । यो गीत हरेक वर्षको दसैैंमा रेडियो तथा टेलिभिजनमा पटक–पटक गुञ्जिँदै आएको छ । एउटा नेपाली गरिबीले पिल्सिएको छ । दसैँ आउँछ । छरछिमेका मासुभात पाक्छ, नयाँ नाना आउँछ । तर एउटा गरिब नेपालीको घरमा दसैँ खर्चको लागि न पैसा हुन्छ, न खाने अन्न ? केही हुँदैन । त्यति बेला लाग्छ उसलाई ‘दसैं नै हो कि यो मेरो दशा....।’ यो गीत पनि कालजयी गीत बनेको छ । 

६) दसैँ आयो
‘मुगलान’ फिल्ममा समाविष्ट ’दसैँ आयो’ गीतमा उदितनारायण र दीपा झाको स्वर छ । सुरेश अधिकारीको संगीतमा बनेको यस गीतले दसैँको सामाजिक परिवेशलाई उतारेको छ । बारीमा तोरी फुलेको, धान झुलेको, लाहुरेहरू गाउँ फर्केको प्रसंग गीतमा उठाइएका छन् ।

७) वर्षमा दिनमा लै लै
गायक सुगम पोखरेलले पोहोर सालमात्रै निकालेका हुन् यो गीत। ’शिलान्यास’ एल्बममा समाविष्ट यो गीतले दसैँको खुशियालीलाई समेट्न खोजेको छ। गीतमा प्रयोग भएका दही, जमरा, सयपत्री फूल, रातो निधारजस्ता शब्दले दसैँको माहोल झल्काउँछ।

८) आयो फेरि दसैँ
विष्णु माझीको स्वरमा रहेको ’आयो फेरि दसैँ’ एक महिनायता सीआरबीटीका रूपमा सर्वा्धिक डाउनलोड भएको गीत हो। जम्मा ४६ सेकेन्डको यो शुभकामना गीत महिना दिनभित्रै ६ सय ५ पटक डाउनलोड भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस