काठमाडौँ । कुनै जमाना थियो, मदिरा सर्वस्वीकृत समुदायबाहेक अन्य घरका सदस्यको बिहेवारी गर्न नै समस्या हुन्थ्यो। फलानाको घरकाले त रक्सी खान्छन् रे भनेपछि छोरीचेली दिनै डराउँथे। अहिले यो एकादेशको कथा भइसक्यो। अहिले त मदिरा बिनाको बिहे नै दुर्लभ भइसक्यो।
बद्लिएको यही सामाजिक प्रचलनले देखाउँछ, नेपाली समाजमा मदिरा सेवन सामान्य भइसक्यो। मतवाली समुदायमा मदिरा संस्कार सामान्य थियो। अहिले मदिरावर्जित भनिएका बाहुन, क्षेत्रीको घरको बैठकमा पनि मदिराले सहजै प्रवेश पाइसक्यो।
बिहेबटुलो होस् या घरायसी रमझम, मदिरा अनिवार्यझैँ छ। के शहर, के गाउँ ? सबैतिर सहज बन्दै गइरहेको मदिराका कारण दसैं नै एक प्रकारले मदिरामय चाड बनिसक्यो।
कस्तो छ त नेपालमा मदिराको व्यापार अनि पिउनेहरु ? तथ्यांक हेरौं।
विश्व स्वास्थ्य संगठनको सन् २०१० को रिपोर्टअनुसार एकजना नेपालीले २ लिटर शुद्ध मदिरा पिउँछन्। नेपाल मदिरा सेवन गर्ने मुलुकमा एक सय ४९ औं स्थानमा पर्छ।
नेपालको तथ्यांकअनुसार यहाँ आन्तरिक रुपमा उत्पादित ब्रान्डेड मदिरा वार्षिक करिब ३४ करोड लिटर खपत हुन्छ। आर्थिक वर्ष ०७३/०७४ मा २२ करोड ६२ लाख ११ हजार लिटर मदिरा उपभोग भएकोमा आर्थिक वर्ष ०७४/०७५ मा ३४ करोड ४३ लाख ५३ हजार लिटर पुगेको थियो।
यो त भयो नेपालभित्रै उत्पादन हुने मदिराको तथ्यांक। नेपालमा विभिन्न देशबाट समेत मदिरा आयात हुन्छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा ७७ लाख लिटर मदिरा भित्रिएको थियो। आर्थिक वर्ष ०७४/७५ मा १ करोड १६ लाख लिटर मदिरा आयात भयो। नेपालमा उत्पादन भइरहेको मदिरा र विदेशबाट आयात भइरहेको मदिराको मात्रा जोड्दा ३५ करोड लिटर नाघ्छ।
नेपालमा हरेक वर्ष ३५ करोड लिटर मदिरा खपत हुन्छ। जनसंख्याअनुसार खपत हुने मदिराको मात्रा बाँड्ने हो भने एक नेपालीको भागमा एक वर्षमा १३ लिटर ब्रान्डेड मदिरा पर्छ।
अब यही मदिराको तथ्यांकलाई नेपालको जनसंख्यासँग दाँज्ने हो भने एक नेपालीले वर्षमा १३ लिटर मदिरा पिउँछन्। यसमा घरेलु उत्पादन अझै जोडिएको छैन। त्यो जोड्ने हो भने यसको उत्पादन मात्रा र खपतको तथ्यांक थप बढ्छ।
आउने ४६ अर्ब, जाने ३ अर्ब
नेपालमा मदिरा उत्पादक कम्पनी करिब ५० वटा छन्। बियरका ९ र वाइन उत्पादक ३० कम्पनी छन्। आन्तरिक राजश्व विभागको तथ्यांकअनुसार राज्यले हरेक वर्ष मदिराबाट वर्षको २५ अर्ब हाराहारी राजश्व सङ्कलन गर्ने गर्छ। आन्तरिक राजश्व विभागका अनुसार आर्थिक वर्ष ०७५/७६ मा नेपालभित्रै बनेको मदिराबाट २५ अर्ब २१ करोड राजश्व उठ्यो। यो बियर बाहेकको राजश्व हो। बियरबाट मात्रै वर्षमा राज्यले २० अर्ब ८८ करोड राजश्व उठाउँछ।
विदेशबाट आउने मदिरामा अल्कोहलको मात्राअनुसार कर लाग्छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा ४ अर्ब १९ करोड राजश्व उठ्यो। ०७४/७५ मा ३ अर्ब ९९ करोड राजश्व उठ्यो भने ०७५/७६ मा ४ अर्ब १९ करोड राजश्व आयो।
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा अस्ट्रेलिया, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, अमेरिका, युएई, सिंगापुर, बेल्जियम, बेलायत, कोरिया, फिलिपिन्स, स्पेन, ब्राजिलजस्ता मुलुकबाट मदिरा आयात हुने गरेको छ।
हाइग्रेड मदिरा हाइक्लासमा
नेपालमा विशेषगरी ४० प्रतिशत अल्कोहल भएका मदिरा बढी मात्रामा उपभोग हुन्छ। २५ र ३० युपीका मदिरामा अन्तःशुल्क (कर) बढी लाग्ने भएकाले महँगो पर्ने नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव गुरुप्रसाद अधिकारीले बताए। उनका अनुसार तुलनात्मक रुपमा ४० युपीका मदिरा सस्तो हुने भएकाले मदिरा पिउनेले ४० युपीका मदिरा बढी खोज्छन्।
७० युपीको मदिरामा अल्कोहलको मात्रा १७ प्रतिशत हुन्छ। ५० युपीको मदिरामा २८ प्रतिशत, ४० युपीमा ३४ प्रतिशत, ३० युपीमा ४० प्रतिशत र २५ युपीमा ४२ प्रतिशत अल्कोहलको मात्रा हुन्छ। २५ र ३० युपीका मदिरामा भोड्का, ह्विस्कीजस्ता मदिरा पर्छन्।
‘२५ र ३० युपीका मदिरा सेवनकर्ता घट्दो क्रममा छन्,’ महासचिव अधिकारीले भने, ‘यी मदिरा पिउने व्यक्तिले ४० युपीको पिउन थाले।’
व्यवसायीका अनुसार ४०, ५०, ७० युपीका मदिरा सामान्य आय भएका नेपालीले पिउँछन् भने २५, ३० युपीका मदिरा उच्च आयस्रोत भएका स्वदेशी र विदेशीले पिउँछन्।
बियर र वाइनमा अल्कोहलको मात्रा कम हुने भए पनि यसको उपभोग बढी नै देखिन्छ। व्यवसायीको अनुमानमा विशेषगरी मदिरा पिउन सुरु गर्ने सिकारु, युवा र महिलाले बियर र वाइन पिउँछन्। बजार खुद्रा मूल्य हेर्ने हो भने नेपालमा न्यूनतम ८ सयदेखि पाँच लाख रुपैयाँसम्मका ह्विस्की पाइन्छन्। शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ असोज २०७६, १९ : ०७
लेखकबाट थप