काठमाडौं । सरकार गठन प्रक्रियामा नेकपा एमालेले गरेको चरम राजनीतिकरण पछि मधेस प्रदेश सभामा एमाले एक्लिदै जान थालेको छ । जनता समाजवादी पार्टी (जसपा)का जितेन्द्र सोनल मुख्यमन्त्री बन्दै गर्दा कांग्रेस र एमाले एकातिर र अरु दल अर्काेतिर रहने अवस्था थियो ।
तर, सोनलले विश्वासको मत लिने बेला माओवादी केन्द्रभित्र दुई जना सांसदले संसदमै गरेको विद्रोहपछि उनले विश्वासको मत भन्दा अगाडी राजीनामा दिए । त्यसपछिको खेल भने एमालेले जालझेलपूर्ण खेल्न थाल्यो । कांग्रेसलाई समेत थाहै नदिई प्रदेश प्रमुखले एमाले नेतालाई प्रदेश सभाको ठूलो दलको नेताका रुपमा मुख्यमन्त्री नियुत्तः गरिदिइन् ।
विरामी भई काठमाडौं उपचारमा जान लागेको भनी हिँडेकी प्रदेश प्रमुखले बर्दिबासको होटलमा मुख्यमन्त्रीलाई सपथ खुवाइन् । त्यसपछि झन् मधेसको राजनीति किचलोमा फसेको छ । प्रदेश प्रमुख थिए, एमालेकै राजनीति गरेका । केपी ओली प्रधानमन्त्री हुँदा उनका स्वकिय सचिव काम गरेका इन्द्र भण्डारीका काकी । प्रदेश सभामुख एमालेकै नेता रामचन्द्र मण्डल । अहिले मुख्यमन्त्री बनेका छन्, एमालेका सरोजकुमार यादव ।
एमालेले पदीय हैसियतमा रहेका नेताहरुलाई पदीय आचरण विपरित सरकार कब्जा गर्ने नियतका साथ जसरी काम गरे त्यसले एमालेलाई प्रदेश सभामा एक्लाउँदै लगेको छ । सभामुख विरुद्द पनि अहिले अन्य दलका सांसदले अविश्वास प्रस्ताव प्रदेश सभामा लगेका छन् । उपसभामुखले तोक लगाएको उक्त प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ताको प्रक्रियामा रहेको मधेस प्रदेश सभाले जनाएको छ ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा सत्तापक्षबाट एमालेका २५ तथा राप्रपा र संघीय समाजवादीबाट एक–एक गरी २७ सांसद छन् । तर, एमालेका एक सांसद निलम्बित रहेकाले सत्तापक्षका २६ सांसद छन् । विपक्षीबाट ८० सांसद रहेकामा लोसपाका एक निलम्बित रहेकाले ७९ सांसद छन् । यसरी प्रदेश सभामा १०५ सांसद कायम छन् । सभामुखलाई पदमुक्त गर्न सभामा कायम संख्याको दुईतिहाइ आवश्यक पर्छ । जसका लागि ७० सांसद भए पुग्छ । विपक्षीसँग यो संख्या छ ।
यही बुझेर प्रदेश सभामुखले ५ जना सांसद पदमुक्त गरेका छन् । १० पटक सम्म विना सूचना अनुपस्थित रहेको भन्दै सभामुख मण्डलले ५ सांसद निलम्बन गरे । तर उपसभामुखले सभामुखले गरेको पदमुक्तको कारवाहीलाई बदर गरिदिएकी छिन् । मण्डलले ५ जना सांसद पदमुक्त गरेपछि आफुविरुद्दको अविश्वास प्रस्ताव फेल हुने देखेपछि त्यस्तो प्रक्रिया अगाडी बढाएका थिए ।
यसले झन् एमालेलाई मधेस प्रदेशमा एक्लाएको छ । जितेन्द्र सोनल मुख्यमन्त्री बन्दासम्म एमाले कांग्रेस एकै ठाँउमा रहेपनि कांग्रेसले अहिले एमालेको चालबाजी र सत्ता कब्जाको रणनीति बुझेपछि साथ छोडिदिएको छ ।एमालेलाई अहिले राप्रपा र संघीय समाजवादीको मात्र साथ छ । यसरी हेर्दा निलम्बनमा परेका एक जना गरी २७ जना सांसद छन् ।
अव सभामुखविरुद्दको प्रस्ताव कसरी अगाडी बढ्छ ?
अविश्वास प्रस्ताव विपक्षीहरुले प्रदेश सभामा लैजाँदा सभामुखले रोक्न खोजे । त्यसपछि उपसभामुखले तोक लगाएपछि प्रदेश सभाका सचिवको कार्यकक्षमा पुगेको छ । तर सचिवले पनि प्रस्ताव दर्ता भने गरिसकेका छैनन । उनले अध्ययनको क्रममा रहेको भन्दै दर्ता भने गरिसकेका छैनन । आज यस बारेमा उनले निर्णय लिने छन् । प्रदेश सभामा आएको प्रस्ताव दर्ता नगरी सचिवलाई सुखै छैन ।
‘सभामुखले पदअनुकूल आचरण नगरेको भन्दै प्रदेश सभामा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८० को उपनियम (१) बमोजिम प्रस्ताव पेस भएको छ । उक्त प्रस्ताव दर्ताको प्रक्रियामा छ,’ प्रदेशसभा सचिवालयले भनेको छ । सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव प्रदेश सभा मा दर्तापछि प्रदेश सभा सचिवले आगामी बैठकको अध्यक्षता गर्ने उपसभामुखसमक्ष पेस गर्नुपर्नेछ । सभामुखविरुद्धको प्रस्ताव रहेकाले उपसभामुखले बैठकको अध्यक्षता गर्नेछिन् । प्रदेश सभा २२ कात्तिकयता बसेको छैन ।
बैठकको अध्यक्षता गर्ने पदाधिकारी ९यो प्रस्तावको हकमा उपसभामुख०ले प्रस्ताव दर्ता, छलफल र निर्णयका लागि मिति तोक्ने व्यवस्था छ । प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्र बैठकमा छलफल हुने गरी दिन र समय तोकिनेछ । प्रस्तावमाथि बैठकमा छलफल हुनेभन्दा कम्तीमा एक दिन अगावै सो प्रस्तावको प्रति सबै सदस्यलाई वितरण गर्नुपर्नेछ ।
छलफलका लागि तोकिएको दिन र समयमा प्रस्तावक सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिबाट आफ्नो नाम बोलाएपछि प्रस्ताव पेस गर्नेछ र ती व्यक्तिले चाहेमा प्रस्ताव पेस गर्नुअघि वक्तव्य दिन सक्नेछन् । आरोप लागेका पदाधिकारीले समेत छलफलमा भाग लिन र मत दिन पाउनेछन् ।
अध्यक्षता गर्ने व्यक्तिले छलफल हुने समयावधि निर्धारण गर्नेछन् र सो समयावधि सकिएपछि पदअनुकूल आचरण नगरेको आरोप लागेको सभामुखले आफूमाथि लगाइएको आरोपको सफाइ सम्बन्धमा वक्तव्य दिनेछन् । यसरी सफाइसम्बन्धी वक्तव्य दिएपछि प्रस्तावक सदस्यले चाहेमा आफूले पेस गरेको प्रस्ताव प्रदेश सभाको अनुमति लिई फिर्ता लिन सक्नेछन् । प्रस्तावक सदस्यले प्रस्ताव फिर्ता लिन नचाहेमा वा सभाले अनुमति नदिएमा उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यसपछि सभाको निर्णय दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ । उक्त प्रस्ताव सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा सभामुख स्वतस् पदमुक्त हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश प्रमुखसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस
बागमतीका प्रदेश प्रमुख अस्पताल भर्ना
एमालेको फोन गएपछि प्रदेश प्रमुख अचानक विरामी
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट