महरा प्रकरणमा राज्य संयन्त्रहरुको निष्पक्ष भूमिका जरुरी : प्रदीप पौडेल

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १६ : ३६
महरा प्रकरणमा राज्य संयन्त्रहरुको निष्पक्ष भूमिका जरुरी : प्रदीप पौडेल

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपका विषयमा राज्यका सम्बन्धित् संयन्त्रहरुले निष्पक्ष भएर छानबिन गर्नुपर्ने माग गर्नु भएको छ । “विगतमा शक्तिको आडमा बलशाली व्यक्तिहरुले अनुसन्धान नै प्रभावित गरेका धेरै घटना छन्, फेरि त्यस्तो प्रवृत्ति किमार्थ दोहरिनु हुँदैन” पौडेलले भनेका छन् ।

महरामाथि अब राज्यको छानबिन तथा अनुसन्धान प्रक्रियालाई सहयोग गर्नुको विकल्प नरहेको भन्दै पौडेलले  घटनाको छानविन सामान्य नागरिक सरह हुनुपर्ने बताएका छन् । पछिल्ला दिनमा गृह प्रशासनप्रति आम नागरिकको विश्वास टुट्दै गएको अवस्थामा यस प्रकरणमा राज्यका अंगले कुनै गल्ती नगरी दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्ने पौडेलले बताए ।  सभामुख जस्तो मर्यादित पदमा रहेका व्यक्ति माथिको यस्तो आरोपले संसद्को गरिमा र नेतृत्वप्रतिको मर्यादा समाप्त हुने खतरा समेत पौडेलले औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस