किन माफी मागे पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले ?

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, १५ : ०९
किन माफी मागे पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले ?

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले मंगलबार सार्वजनिक सूचना जारी गर्दै क्षमा याचना गरेका छन् ।

आखिर किन माफी मागे त पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले ? यस्तो छ कारण । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने सरकारको लोगो सहितको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको समेत तस्वीर समावेश भएपछि महानिर्देशक शर्माले क्षमा याचना गर्नु परेको हो ।

पशु सेवा विभागले त्रुटि भएको स्वीकार गर्दै क्षमयाचनासहित पोस्टर सच्याइसकेको र सम्बन्धित निकायमा पत्रचार समेत गरिसकेको जनाएको छ । विभागका महानिर्देशक डा। वशी शर्माले पोष्टरमा छपाइको त्रुटिका कारण गाइको तस्वीर पर्न गएको स्वीकार्दै सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गरी सच्याइसकेको बताए ।

राप्रपाको आपत्ति

‘दशैं लक्षित प्रचार सामग्रीमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्बिर संलग्न गरिनु दुःखद र दुर्भाग्यपूर्ण छ । धार्मिक आस्था जस्तो संवेदनशील विषयमा अक्षम्य त्रुटी गरिनु सामान्य विषय किमार्थ हुन सक्दैन ।

यो नियतवश वा भुलवश के हो भन्ने बारेमा अबिलम्ब छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ’, राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस