राजेशपायल राईको सम्झनाका पलहरु खरानी भएपछि....

मंगलबार, ३१ भदौ २०७६, १५ : ५२
राजेशपायल राईको सम्झनाका पलहरु खरानी भएपछि....

काठमाडौँ ।  गायक राजेशपायल राईले सांगितिक करिअरमा प्राप्त गरेका अवार्ड, प्रमाणपत्रहरु पलभरमै खरानी भएका छन् । 

बानेश्वरस्थित घरमा आगलागी भएपछि अवार्ड प्रमाणपत्रहरु खरानी भएका हुन् ।  सांगितिक कार्यक्रमको सिलसिलामा देशबाहिर रहेका उनी घटना सुनेपछि सुरुमा निकै दुःखी बने।

उनी जुन सांगितिक उचाइमा पुगे, स्रोताको जति माया पाए, त्यसको प्रमाण तिनै अवार्ड, प्रमाणपत्र, मायाको चिनो थिए। जीवनका तिनै सम्पत्ती खरानी बनेपछि दुःखी हुनु स्वभाविकै थियो। देशबाट टाढा रहे पनि यस घटनाले उनी विचलित भएका छैनन्, अझ मनलाई बलियो बनाउने प्रयासमा छन्, उनका निरन्तर फेसबुक स्टाटसले यही देखाउँछन्।

आगलागीबाट उनका भाइ नवीन राईले पाएका प्रमाणपत्र, अवार्ड पनि जलेका छन्। नवीनका अनुसार विद्युत सर्ट भएर कोठामा आगो लागेको थियो।

‘हामीले हाम्रो साङ्गीतिक करिअरमा प्राप्त गरेका उपलब्धिका दस्तावेजहरू यही कोठामा सजाएका थियौँ। मेरोभन्दा पनि दाइको विगत यही कोठामा सजाएका थियौँ सबै नस्ट भयो’, मलिन स्वरमा नवीनले सुनाए, ‘‘भौतिक क्षतिको आँकलन गर्नुभन्दा पनि यहाँ बौद्धिक क्षतिले अर्थ राख्ने रहेछ।’

राजेशले आफू बाध्यताले देश बाहिर रहेको उल्लेख गर्दै दुःखको क्षणमा सहयोग गर्नेप्रति फेसबुकमार्फत् आभार प्रकट गरेका छन्।
‘यस घडीमा म अहिले नै घर आउन सकिन र सक्दिन पनि, मसँग पेशा छ अनि बाध्यता पनि। आयोजकसँग अमेरिका, क्यानडामा दुइ महिनाको कार्यक्रमको एग्रीमेन्ट अझै बाँकी नै छ। तर, यो परिस्थितिमा मेरा छिमेकीे, नेपाल प्रहरी लगायत सहयोगी मनहरूप्रति, हार्दिक नमन। अवार्ड जले होलान् तर तपाईंहरूले दिएको आशिर्वाद, माया र सुझाव नजलोस्। म सदा तपाईंहरूकै काखमा लुट्पुटिने मान्छे।’

राईले पुनः भगवानसँग गुनासो गर्दैै सामाजिक सञ्जालमा लेखेका छन्ः ‘गल्ती, कमिकमजोरी मान्छेबाट हुन्छ भन्थँे, तर भगवानबाट पनि हुँदो रहेछ। भगवानले नै दिए अनि भगवानले नै लगे। अब, उनैले दिनेछन् एक दिन फेरि गल्ती नगरिकन।’

प्रतिक्रिया दिनुहोस