अमेरिकी दबाबमा संयुक्त सैन्य अभ्यासको तयारी

इन्डो प्यासेफिक स्टाट्रेजी अनुसार हुन लागेको सैन्य अभ्यास नेटो स्तरको हुन लागेको खुलासा

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, १० : ४२
अमेरिकी दबाबमा संयुक्त सैन्य अभ्यासको तयारी

काठमाडौं । असंलग्न परराष्ट नीति अबलम्वन गर्दै आएको नेपालले अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गर्न लागेको खुलेको छ । आगामी कार्तिक १८ देखि २९ गतेसम्म अन्नपूर्ण राउन्ड र स्वीफ वाटर रेस्क्युका नाममा अमेरिकी सेना र सशस्त्र प्रहरीका बीचमा संयुक्त सैन्य अभ्यास हुन लागेको खुलेको हो ।

यसमा नेपाल सरकारले अमेरिकी दबाबमा सहमति जनाएको भन्दै सत्तारुढ दलका सांसदहरुले नै आपत्ति जनाएका छन् । सरकारले इन्डो प्यासेफिक रणनीतिका विषयमा प्रष्ट धारणा नदिईरहेका बेला अमेरिकी दबाबमा हुन लागेको संयुक्त सैन्य अभ्यास इन्डो प्यासेफिक स्टाट्रेजीको गठबन्धन नेटो स्तरको हुन खोजेको भन्दै विरोध शुरु भएको छ ।

यस विषयमा सरकारले औपचारिक रुपमा मुख खोलेको त छैन । तर सरकारको नेतृत्व गरिरहेकै पार्टीका एक प्रभावशाली नेतृ पम्फा भुषालले संसदमा यसको खुलासा गर्दै विरोध जनाइन् ।

नेटो अमेरिका र पश्चिमी युरोपका देशहरुले शीत युद्धको समयमा कम्युनिष्ट प्रभाव विस्तार हुन नदिन स्थापना गरेको सैनिक गठनबन्धन हो ।

भुषालले नेपाल कसैका सुरक्षा छात्राभित्र रहन आवश्यक नरहेको भन्दै त्यस्तो सैन्य अभ्यास नेपालले अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्र नीति विपरित रहेकोले रोक्नुपर्ने बताएकी थिइन् ।

‘अमेरिकी सेनाले एउटा हाइ अल्टीच्युटका नाममा अन्नपूर्ण राउन्ड र स्वीफ वाटर रेस्क्यु भनेर कुरिनटारमा राख्ने गरेर नेपाल सरकारलाई चिठ्ठी लेखेको जानकारीमा आएको छ । यस्तो हो भने के नेपाल असंलग्न नीतिमा अडिक छ’ भुसालले सरकारलाई प्रश्न गरिन् ।

उनले भनिन्, – ‘कुनै एउटा राष्ट्रले बनाएको एलाइन्समा करिब करिब नेटोको स्तरको इन्डो प्यासेफिक एलाइन्स जुन बनेको छ । विवादास्पद रहेको छ । यो संठनमा नेपाल औपचारिक रुपमा आवद्ध रहेको छैन । त्यसैले यस प्रकारका संयुक्त प्रशिक्षण नगरियोस् ।’

कुरिनटारमा रेक्युका नाममा राखेर सशस्त्र प्रहरी बलसँग अमेरिकी सेनाले दुई–दुई वटा अभ्यास गर्न खोजेको छ ।

अमेरिका र चीनबीच व्यापार युद्ध भएको समयमा नेपाल कुनै गठबन्धनमा सहभागी हुन नहुने अवस्थामा अमेरिकी दबाबमा नेपालले यो सैन्य अभ्यासमा सहभागी हुने कुरा नेपालको असंग्लन्न परराष्ट नीति विपरित हुनेछ ।

शीतयुद्धको समयमा समेत कसैको गठबन्धनमा नरहेको र नबसेको नेपाल अहिले दुई ठूला छिमेकी देशहरु चिन र अमेरिकाको टक्करमा पर्नु आवश्यक छैन । नेकपाका एक अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक दस्तावेजका आधारमा एक चीन नीतिका पक्षमा दिएको अभिब्यक्तिलाई समेत अहिले अमेरिकाले अनेक उपाय बनाएर विवादमा ल्याउन चाहिरहेका बेला सरकारलाई सैन्य अभ्यासका लागि दवाव दिदै अमेरिकाले चिठी लेखेको खुलेको हो ।

प्रचण्डले दिएको धारणा पार्टी लाइन अनुसारकै भएको पनि नेकपाका नेताहरुले बताउन थालेका छन् । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले पार्टीको दस्तावेजका आधारमा अध्यक्षको धारणा आएकोले यसलाई अतिरज्जना बनाउन खोज्नु गलत भएको बताएका छन् ।

नेकपाको राजनीतिक प्रतिवेदनको पृष्ठ ६ मा उल्लेखित विषयमै टेकेर प्रचण्डको भनाई आएको रिजालले प्रष्ट पारेका छन् । प्रतिवेदनमा दक्षिण चीन सागर र मलक्का जलडमरुलगायत समुद्री मार्गहरूमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ र यसका विरुद्ध कतिपय देशका प्रयास, कोरियाली प्रायद्वीपको तनाव र पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिहरूलगायत एसिया प्रशान्त क्षेत्रका घटनाक्रमहरूलाई पनि हामीले ध्यानमा राख्नुपर्ने उल्लेख छ ।

यसै आधारमा दिएको अभिब्यक्तिलाई विवादमा तान्न आवश्यक नरहेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस