चलचित्र ‘शिवम्’ असोज १७ देखि प्रदर्शनमा आउने

बुधबार, २५ भदौ २०७६, १४ : ११
चलचित्र ‘शिवम्’ असोज १७ देखि प्रदर्शनमा आउने

काठमाडौं । निर्देशक राजु गिरीले निर्देशन गरेको चलचित्र ‘शिवम्’ प्रदर्शनको तयारीमा छ । चलचित्र सेन्सर बोर्डबाट सेन्सर पास गरी पिजी सर्टिफिकेट लिएसँगै यो चलचित्र प्रदर्शनको लागि तयारी भएको हो ।

एस.के. प्रोडक्सन एण्ड मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोहम भेटुवाल, शुभेच्छा थापा, रबि गिरी, प्रदिप गिरी, रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, राजु गिरीलगायतले अभिनय गरेका छन् । श्रीकृष्ण बम मल्लको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, राजु गिरी र जिवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन रहेको छ । यस्तै राजु गिरीको कथामा राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ । चलचित्रको निर्मातामा पर्वत कार्की र कल्पना खराल छन् ।

तिरुपति पिक्चर्सले वितरणको जिम्मा लिएको चलचित्र ‘शिवम्’ आफ्ना अघिल्ला अरु चलचित्रभन्दा पनि धेरै मेहनत गरेर निर्माण गरेको कारणले पनि दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको निर्देशक राजु गिरीले बताए । ‘चलचित्रमा चाहिने लभ, एक्सन, हाँस्यलगायत सबै मसला समेट्न धेरै मेहनत गरेका छौं, त्यसैले पनि चलचित्र शिवम् नेपाली दर्शकको मनमा बस्छ’ निर्देशक गिरीले बताए । यो चलचित्र दशैंको अवसर पारेर यही अशोज १७ गतेदेखि देशब्यापी प्रदर्शन ल्याउन उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस