रन्जित रे भेटेपछि हृदयेश त्रिपाठीले किन गरे पत्रकार सम्मेलन ?

भारतीय पूर्व राजदुत रन्जित रे काठमाडौंमा, राजनीतिक दलका नेताहरुसँग पनि भेटघाटको कार्यक्रम

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, ०७ : ५१
रन्जित रे भेटेपछि हृदयेश त्रिपाठीले किन गरे पत्रकार सम्मेलन ?

काठमाडौं । संसदमा सत्तारुढ दल नेकपाकै सांसदको हैसियतमा छन् हृदयेश त्रिपाठी । उनी, वृजेश गुप्ता लगायत नेताहरु मिलेर तराई मधेस लोकतान्त्रिक पार्टी त्यागेर स्वतन्त्र राजनीतिक विचार समुह बनाएका थिए ।

कुनै राजनीतिक दलका रुपमा विकसित भईनसकेको तर स्वतन्त्र विचार समुहकै अस्तित्वमा रहेको यो समुहले गत प्रतिनिधीसभा चुनावका बेला तत्कालिन एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचन लडेको थियो ।

त्यसमध्ये त्रिपाठी र गुप्ता दुवैले सूर्य चुनाव चिन्ह लिएर चुनाव जिते । राजनीतिक आस्थाका आधारमा उनीहरु नेकपाका नेता नभएपनि सूर्य चुनाव चिन्ह लिएपछि भने उनीहरु नेकपाकै सांसदको रुपमा रहने हुन्छन् । त्यही भएर संसदमा कानुनी रुपमा उनीहरु नेकपाका सांसद हुन् । तर अस्तित्व भने उनीहरुको फरक छ ।

यो वीचमा उनीहरुले नेकपासँगै एकताका लागि अनेक छलफल गरे । अध्यक्षद्धय केपी ओली र प्रचण्डसँग पटक–पटक हृदयेश त्रिपाठीले छलफल पनि गरे । तर नेकपासँग एकता गर्ने÷नगर्नेमा निर्णयमा पुग्न त्रिपाठी नेतृत्वको यो स्वतन्त्र राजनीतिक विचार समुह पुग्न सकेको थिएन ।

उसले नेकपासँगको एकताका विषयमा अब के गर्ने ? भन्नेमा छलफल गर्न २० भदौंमा कार्यकर्ता भेला बोलाए । छलफल पनि गरे । तर कार्यकर्ता भेला गरेको तीन दिन पछि मात्र उसले तत्काल नेकपासँग पार्टी एकता नगर्ने भन्दै आफनो धारणा सार्वजनिक गरे ।

तर यस्तो धारणा त्रिपाठी समुहले किन नेपालका लागि भारतीय पूर्व राजदुत रञ्जित रे सँगको भेट पछि सार्वजनिक गरे ? भन्ने बहस अहिले शुरु भएको छ ।

त्रिपाठीले मंगलबार साझ ५ वजे अकस्मात पत्रकार सम्मेलन गरी नेकपासँग तत्काल एकता नगर्ने घोषणा गरे । त्यस अगाडी उनले लाजिम्पाटस्थित होटल ¥याडिसनमा उनले भारतीय पूर्व राजदुत रन्जित रे सँग लामो कुराकानी गरेका थिए ।

रे सँगको भेट लगत्तै उनले पत्रकार सम्मेलन बोलाएर आफ्नो समुहको धारणा सार्वजनिक गरेका थिए । तत्काल आफनो विचार समुहलाई बलियो बनाउने गरी संगठन विस्तार गर्ने तर नेकपासँग हत्तारिएर पार्टी एकता नगर्ने त्रिपाठीले त्यसक्रममा बताएका थिए ।

‘एकताका विषयमा अहिले कुनै निष्र्कषमा हामी पुगिसकेका छैनौं । सहमति पनि हाम्रो कुनै भईसकेको छैन,’– त्रिपाठीले पत्रकार सम्मेलनमा भने, ‘तत्काल हामी आफ्नै विचार समुहलाई संगठित बनाउँछौं ।’

उनले दलका रुपमा आफनो समुहलाई निर्वाचन आयोगमा दर्ता गर्ने कुनै योजना भने अहिले नरहेको बताए । ‘हामी स्वतन्त्र राजनीतिक विचार समुहकै रुपमा देशभरका हामीसँग आवद्ध हुन चाहने हरुलाई संगठित पाछौं, तर दलकै रुपमा भने अहिले दर्ता गदैनौं,’ त्रिपाठीले भने ।

नेकपासँग एकता नगर्ने निष्र्कष उक्त समुहको भएपनि उनले किन तीन दिन अगाडीको निर्णय रञ्जित रेसँगको भेट पछि सार्वजनिक गरे भन्ने चर्चा भने निक्कै चुलिएको छ ।

भारतीय पूर्व राजदुत रे मंगलबार मात्रै काठमाडौं आईपुगेका थिए । पूर्व परराष्टमन्त्री रमेशनाथ पाण्डेको छोरा निश्चलनाथ पाण्डेको निम्तोमा काठमाडौं आईपुगेका रे लाजिम्पाट स्थित ¥याडिसन होटेलमा बसेका छन् ।

काठमाडौं आईपुग्ने वित्तिकै उनले हृदयेश त्रिपाठीसँग भेट गर्नु, त्यसलगत्तै त्रिपाठीले पत्रकार सम्मेलन गर्नु र तीन दिन अगाडीको भेलाका विषयमा जानकारी दिँदै नेकपासँग तत्काल  एकता नगर्ने घोषणा गर्नुलाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने भएको छ ।

यद्यपी रञ्जित रे ले अहिले भारतीय संस्थापन पक्षको प्रतिनिधित्व भने गर्दैनन् । उनी कांग्रेस आईसँग निकट मानिन्छन् ।

रे काठमाडौं बस्दा उनले अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस