रविन्द्रको क्षेत्रमा कसले पाउला चान्स ? यस्तो छ पार्टीहरुको रस्साकस्सी

मंगलबार, २४ भदौ २०७६, १६ : १८
रविन्द्रको क्षेत्रमा कसले पाउला चान्स ? यस्तो छ पार्टीहरुको रस्साकस्सी

पोखरा । हेलिकप्टर दुर्घटनामा रविन्द्र अधिकारीको निधन भएपछि उनको क्षेत्र कास्की २ मा हुने उपनिर्वाचन उम्मेदवारको विषयमा चर्चा परिचर्चा हुन थालेको छ । उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुट्न थालेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरूबीच रस्साकस्सी सुरु भइसकेको छ । 

कास्की २ बाट चुनाव लड्न उम्मेदवारको लविङ चल्न सुरु भएको छ । नेकपाबाट ‘हेभिवेट’ बामदेव गौतमको उम्मेदवार बन्ने चर्चा बढ्दै गइरहेको छ । उनी पछिल्लो समय नेकपाको उपाध्यक्ष बनेका छन् भने ओली निकटमा गएका छन् । नेकपाका एक नेताका अनुसार प्रभावशाली नेता बामदेव गौतमलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको छ । ‘केन्द्रबाट आउँदा उहाँ नै उम्मेदवार हो,’ ती नेताले भने । ती नेताले रविन्द्र पत्नी विद्या भट्टराईको पनि उम्मेदवार बन्ने सम्भावना रहेको बताए । 

यसअघि बामदेव गौतमले रविन्द्रपत्नी विद्यालाई नै चुनाव लडाउन उपयुक्त हुने बताएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बर्दिया–१ मा कांग्रेसका सञ्जयकुमार गौतमसँग ७५३ झिनो मतअन्तरले पराजित भएका थिए । रवीन्द्रपत्नी विद्या र केन्द्रीय नेता वामदेव नउठे नकपा कास्की इन्चार्ज राजकाजी गुरुङको पनि उम्मेदवार बन्ने सम्भावना पनि छ  ।

उम्मेदवारको विषयलाई लिएर छलफल चलाउन केन्द्रबाट हालसम्म कुनै निर्देशन नआएको नेकपा कास्की अध्यक्ष कृष्ण थापा बताउँछन् । ‘उम्मेदवारको विषयलाई लिएर अहिलेसम्म आधिकारिक छलफल भएको छैन,’ उनले भने, ‘असोज ४ मा बैठक छ, त्यहाँ केही छलफल होला ।’ नेकपाले संगठनलाई अद्यावधिक गर्न दसमहिने योजना बनाएको छ । पहिला ४ महिना चुनावलक्षित कार्यक्रम गर्ने, त्यसपछि पार्टी र सत्तालाई सहयोग पुर्‍याउने योजना बनाउने नेकपाको तयारी छ ।

कांग्रेसबाट नेता धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा छ । गुरुङले सामाजिक सञ्जालमै अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा जाहेर गरेका थिए। वामदेव आउँदा कांग्रेसबाट बलियो उम्मेदवार ल्याउनुपर्ने आवाज पार्टीभित्र उठेको कांग्रेस कास्कीका कार्यवाहक सभापति आइबहादुर गुरुङ स्विकार्छन् ।

‘अहिले उम्मेदवारको विषयमा छलफल भएको छैन,’ उनी भन्छन्, ‘अन्तबाट ल्याउनैपर्ने जस्तो देखिन्न तर जित्न बलियो उम्मेदवार चाहिने आवाज उठेको छ ।’

गत महिना कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारी पोखरामा भेला भएर कुनै पनि हालतमा कांग्रेसका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका थिए । उपनिर्वाचनमा उम्मेदवार बन्न कांग्रेसबाट धेरै आकांक्षी छन् ।

उनीहरूले टिकट पाउन केन्द्रदेखि जिल्लासम्म  ‘लबिइङ’ गरिरहेका छन् । रवीन्द्र अधिकारीसँग पराजित भएका देवराज चालिसे पुनः चुनाव लड्ने मनस्थितिमा छन् ।

महासमिति सदस्य ऋषि काफ्लेले पनि यसपल्ट आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् । अर्का महासमिति सदस्य उज्ज्वल बरुवाल उम्मेदवारका अर्का दाबेदार हुन् । 

साझा पार्टीले उम्मेदवार चयन गर्न गृहकार्य थालेको छ । शनिबारसम्म उम्मेदवार घोषणा गर्ने पार्टीको तयारी छ । पार्टीका कास्की र पोखरा महानगर संयोजक घोषणासभामा उम्मेदवारसमेत घोषणा गर्ने तयारी रहेको गण्डकी प्रदेश संयोजक महेश भण्डारीले बताए ।

यसपल्ट महिला उम्मेदवार उठाउने बताए पनि उनले नाम भनेनन् । ‘सामाजिक प्रतिष्ठा हासिल गरेको, समाजमा राम्रै पहिचान भएको र राजनीतिकै लागि महत्त्वपूर्ण अवसर छाडन तयार उम्मेदवारलाई उठाउँदै छौं,’ उनले भने ।

नेकपा र कांग्रेसबाट ‘हेभिवेट’ उम्मेदवार भए साझा पार्टीले सयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने जानकारी दिए । ‘वैकल्पिक राजनीतिको चासो भनेको सम्बन्धित जिल्लाकै उम्मेदवार उठाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘तर हेभिवेट आउने अवस्थामा गण्डकी प्रदेशले पार्टी संयोजकलाई नै उम्मेदवार बन्न माग गर्छ ।’

यीबाहेक समाजवादी पार्टी नेपालबाट किरण थापा, राप्रपाबाट सीता केसी उम्मेदवार बन्ने चर्चा छ । यो स्वर्गीय रवीन्द्रले तीन पटक जितेको ठाउँ हो । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार साउन १६ सम्म एक हजार ६ सय १० मतदाता थपिएका छन् ।

२०७४ मा यस क्षेत्रमा कुल ७० हजार ६ सय ५१ मतदाता थिए । थपिएकासहित उपनिर्वाचनमा ७२ हजार २ सय ६१ ले मतदान गर्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस