‘जिग्री’ र ‘पाँडे’ नयाँ टेलिश्रृंखलामा आउने

सोमबार, २३ भदौ २०७६, १३ : ००
‘जिग्री’ र ‘पाँडे’ नयाँ टेलिश्रृंखलामा आउने

काठमाडौं । चर्चित हाँस्यश्रृखला ‘भद्रगोल’बाट बाँहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’लगायतको टिम नयाँ टेलिश्रृंखलामा आउने भएका छन् ।

उनीहरुको टिमले निर्माण गरेको नयाँ श्रृंखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउने भएको छ । सबै टिम मेम्बरले साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृंखलाको बारेमा जानकारी दिएका हुन् । श्रृंखलाको नाम भने अहिले गोप्य राखिएको छ । 

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृंखलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ । श्रृंखलाको नाम केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने योजना उनीहरुको रहेको छ ।

भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृखला निर्माण हुने अर्जुन घिमिरेले बताए । श्रृखलाको अवको यात्रामा शंकर आचार्य ‘वरिष्ठे र सिपी पुडाशैनी धतुरे पनि देखिने भएका छन् । 

भद्रगोल’को ट्रेडमार्क मिडिया हबसँग छ । उसले पुरानै भद्रगोलको नयाँ कलाकार लिएर निरन्तरता दिइसकेकोले यसका युनिटले अर्को निर्माण गर्नु परेको हो । 

श्रृखला असोज २ गतेदेखि हरेक बिहीबार राती ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस