Safal Khabar - मुस्कानको मुस्कान खोसिएको त्यो दिन
बिहिबार, ०२ असोज २०७६ (Thursday, 19 September, 2019)
मुस्कानको मुस्कान खोसिएको त्यो दिन
आइतबार, २२ भदौ २०७६, १७ : ४८
मुस्कानको मुस्कान खोसिएको त्यो दिन

नाम : मस्कान खातुन
उमेर : १४ 
हाल : कीर्तिपुर अस्पताल, बेड नं ५

मम्मी ! यो ऐना हटाइदिनूस् । मलाई डर लग्यो । हटाइदिनूस् मम्मी । 
नडराऊ ! नडराऊ !!
जतिबेला आफ्नो अनुहार ऐनामा ठोक्कियो, त्यतिबेला उनी यति चिच्चाइन र डराइन् । मम्मीलाई पटकपटक ऐना हटाउन आग्रह गरिन् । 


गत शनिबार क्याबिनको बाथरुपमा छिर्दै गर्दा जब अनुहार ऐनामा ठोक्कियो, आफ्नो अनुहार देखेर आफैँ डराइन् । तर्सिन । बिचरी ! मुस्कान खातुन, न कुनै गल्ती, न कुनै अपराध । यतिबेला उनको अनुहार एसिडले छियाछिया भएको छ । मन भाँच्चिको छ, सास्तीले सगरमाथा चुमेको छ । बेडमा छटपटाइरहेकी मुस्कानको अनुहारमा मुस्कान हराएको तीन दिन पूरा भएको छ । 

nic asia
Yeti Diistillery


गत शुक्रबारको दिन । बिहानै उठिन् । हातमुख धोइन् । स्कुल पोशाक लगाइन् । कहिल्यै स्कुल एक्लै नजाने । सधैँ बुबाले स्कुल पु¥याउने । त्यो दिन बुबालाई सञ्चो भएन । भाइलाई पु¥याउन भनिन् मुस्कानले । आफू अघिअघि भाइ पछिपछि स्कुल गइरहन्छन् । 

वीरगन्ज छपकैया–३ की मुस्कान कक्षा ९ मा पढ्छिन्। सरकारी विद्यालय भए पनि त्यहाँ अङ्ग्रेजी र नेपाली दुवैमा पढाइ हुन्छ।

उनी अङ्ग्रेजी कक्षा पढ्छिन्। यो कक्षा बिहानै हुन्छ।

फटाफट स्कुल हिँड्छिन् मुस्कान, नत्र कक्षा छुट्छ । आफ्नो पढाइलाई असर पर्छ पढेर ठूलो मान्छे बन्ने, जागिर खाने उनको सपना छ । त्यही सपनालाई साकार पार्न पाइला अघिअघि सार्छिन् । भाई भेट्टाउन खोज्दै छ मुस्कानलाई 
नजिकको सैलुनमा बसका केटाहरूले जिस्क्याए– ‘ओइ मुस्कान, एकछिन रोक, यता हेर न ?


मतलब राख्दिनन् मुस्कान । भाइको हात समाउँदै अघि बढ्छिन् । 
फेरि आवाज आउँछ, ‘यता हेर न मुस्कान !’
पुलुक्क हेर्छिन् । झ्याप्प फालिन्छ पानी ।
‘बचाऊ बचाऊ’ मुस्कान कराइन् । 
‘के भो के भो ?’ मान्छेहरु जम्मा भए । 
‘पोल्यो पोल्यो बचाऊ’ मुस्कान चिच्चाइन् । 


एकैछिनमा उनलाई वीरगञ्जको नारायणी अस्पताल लगिन्छ । अस्पतालले कोठमाडौँ कीर्तिपुर अस्पताल रिफर गर्छ । 
हो, यतिबेला मुस्कान कीर्तिपुर अस्पतालमा आफ्नो मुस्कान खोजिरहेकी छन् । तर कतै पनि पाएकी छैनन् । पहिलेको मुस्कान फर्कन सकेको छैन । बुबाआमा उनको उपचारमा खटिरहेका छन् । मन्त्रीदेखि सांसदहरु उपचारमा सहयोग गर्ने प्रतिबद्धता दिइरहेका छन् । भेटघाटमा मन्त्रीसम्म पुगेका छन् । 


मुस्कानको मनमा एउटा कुराले दिनहुँ सताइरहेको छ ? भोलि फेरि यो अनुहार समाजमा कसरी देखाउने ? अपराधी पक्राउ त परे । तर मुस्कानका बुबाआमा अपराधीलाई मृत्युदण्ड हुनुपर्ने बताइरहेका छन् । 

अस्पतालको बेडमा मुस्कानको आमा टोलाइरहन्छिन्। तेजाबले जलेको छोरीको अनुहार हेर्दै आमा घरि आँखा चिम्लिन्छिन्, घरि लामो सास फेर्छिन्। घरि छोरीको अनुहार सलले छोपिदिन्छन्, घरि उठाएर हेरिरहन्छिन्, एकटक। बेलाबेला आँसुका ढिक्काहरु खसिरहन्छ । 

आमाबुबाको मन पनि विक्षिप्त छ । 

जल्नुको पीडा त जल्नेलाई भन्दा अरूलाई के हुनु र ? तर, बेडमा बसेर छोरीको कपाल सुम्सुम्याइरहेकी आमाका आँखामा पीडाका धर्सा बाक्लै थिए।

पढाइमा अब्बल छिन् मुस्कान। उसै त मधेशी मुस्लिम समुदायमा बालविवाहको स्थिति भयावह छ। मुस्लिम समुदायमै ‘बेटी’ नपढाउने चलन अझै उस्तै छ। तर, मुस्कान भने पढाइमै तल्लीन छिन्।

घुम्टो बाहिर निस्केर भुर्र उड्न थालेकी मुस्कान एकाएक तेजाबका छिटाले ‘धुवाँ’ मा उडाइदिए।

बुवा रसुलले भने, ‘उसको दिदीको बिहे भइसकेको छ, तर उसको धेरै पढ्ने इच्छा थियो, तर अपराधीले यस्तो हाल बनाइदियो । त्यस्तालाई त फाँसी हुनुपर्छ ।’ 

तीन बहिनी छोरी र दुई भाइ छोरामध्ये उनी माहिली छोरी हुन्। रसुलको एउटा आल्मुनियम पसल छ। उनी त्यही पसलमा काम गर्छन्।


त्योभन्दा अघि उनीहरू काठमाडौंमै बस्थे। भूकम्पपछि उनीहरू गाउँ फर्किएका हुन्। मुस्कानले प्राथमिक तहको पढाइ काठमाडौंमै सकेकी थिइन्। त्यही भएर गाउँ फर्किए पनि उनी अङ्ग्रेजी कक्षामै भर्ना भइन्।

केही केटाहरु थिए, जो केही समयदेखि उनको पछि लागिरहेका थिए। उनलाई प्रेम प्रस्ताव गरिरहेका थिए। बाटोमा जिस्क्याउँदै हिँड्थे। सुरुमा त उनले आफैं ‘प्रतिकार’ पनि गरिन्। तर, अति नै हुन थालेपछि आमालाई भनिन्। आमाले बुवालाई।

रसुलले ५\६ महिना अगाडि ती केटालाई हप्काएका थिए। त्यसपछि केही समय उनीहरूले मुस्कानलाई जिस्क्याएनन्, डराएर हो वा मौका कुरेका।


‘‘अब मेरी छोरीलाई जिस्क्यायौ भने तिमीहरूको हातखुट्टा भाँचिदिन्छु भनेर उनीहरूलाई डर देखाएको थिएँ,’ रसुल सम्झिन्छन्, ‘पढाइ छोडेका ती केटाहरू आवारा हुन्, टोलमा त्यस्तै केटीहरू जिस्क्याउँदै हिँड्छन्। आखिरमा मेरै छोरीलाई शिकार बनाए।’

वीरगन्ज छपकैयाकै १६ वर्षीय माजिद आलम र सम्साद मिया। पढाई छाडेर गाउँभरि ‘आवारा’ भएर हिँड्ने यी दुई किशोर छिमेकी गाउँकै हुन्।


भित्रभित्रै उनीहरूले मुस्कानलाई पछ्याइरहेका थिए। एक्लै भेट्दा जिस्क्याउने र, फेरि प्रेम प्रस्ताव गर्ने। मुस्कान अहिले केही बोल्दिनन्, मुन्टोमात्रै हल्लाउँछिन्। अनि एकोहोरिन्छिन्।


 प्रेम प्रस्ताव गर्ने र मुस्कानलाई जिस्क्याउँदै हिँड्ने माजिदलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो भने केही समयपछि सम्साद मियालाई पनि पक्राउ गरिसकेको छ।

‘उनीहरूका पनि पाँच दिदीबहिनी छन् नि,’ रसुल भन्छन्, ‘तर, त्यस्तो कसैलाई नहोस् हाम्रा बेटीहरूलाई त अब एक्लै बाहिर निस्किन पनि निकै डर भो, छोरीको यस्तो हालत छ, अब हामीले के भन्ने ?’

प्रतिक्रिया दिनुहोस