जिग्री र पाँडेको ठाउँमा नक्कली बाबुराम रहने गरी आजबाट फेरि ‘भद्रगोल’ प्रदर्शनमा

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०७६, १८ : ४५
जिग्री र पाँडेको ठाउँमा नक्कली बाबुराम रहने गरी आजबाट फेरि ‘भद्रगोल’ प्रदर्शनमा

काठमाडौँ । केही समय अगाडि बन्द भएको चर्चित हाँस्य टेलीशृङ्खला ‘भद्रगोल’ आजबाट फेरि प्रशारमा आउने भएको छ । शृङ्खला नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारसाथ प्रसारणमा आउन लागेको हो ।

यसअगाडि यो शृङ्खला निर्माण अभिनय गर्दै आएका कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीमले छोडेपछि यो श्रृखला नयाँ शैलीमा आउन लागेको हो ।

‘भद्रगोल’का निर्देशकसमेत रहेका अर्जुन घिमिरे ‘पाँडे’ले केही साता पहिले सामाजिक सञ्जालमार्फत् एक लामो स्टाटस पोष्ट गर्दै ‘भद्रगोल’ बन्द भएको जानकारी गराएका थिए । उनको स्टाटमा आर्थिक समस्याका कारण शृङ्खला बन्द गर्नु परेको उल्लेख थियो ।

करिब तीन बर्षदेखि नियमित प्रसारण हँुदै आएको ‘भद्रगोल’ कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले नियमित निर्देशन गर्दै आएका थिए । यसमा कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’, रक्षा श्रेष्ठ लगायत कलाकारको अभिनय रहँदै आएको थियो । यो शृङ्खलाको जिग्री र पाँडे पात्र दर्शक माझ निकै लोकप्रिय मानिन्छ ।

अहिले प्रसारण हुन लागेको ‘भद्रगोल’ नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्ले र अशोक धितालको निर्देशनमा आउन लागेको हो । असोक यस अगाडि पनि उक्त शृङ्खलामा बाहुन डनको चरित्र निर्बाह गर्दै आएका छन् ।

काफ्ले भने भद्रगोलमा मङ्गल थाडु बनेर देखिँदैछन्, भने अशोक धिलात बाहुन डन बनेर आउने भएका छन् । सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारको समेत यो श्रृखलामा अभिनय रहनेछ ।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ८ः३० बजे प्रसार हुँदै आएको यो शृङ्खला अहिले पनि सोही समयमा प्रसार हुने बताइएको छ ।

मिडिया हबकै प्रस्तुतिमा नयाँ शैली सहित आउन लागेको शृङ्खला ‘भद्रगोल’मा अब जनताको जनजीवनसँग सरोकार र समस्यामा केन्द्रिय विषयबस्तुमा समेत निर्माण हुने निर्देशक ज्योती काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस