Safal Khabar - एसिड आक्रमणको भयावह चित्र : किन पर्दैछन् निशानामा किशोरी ?
शुक्रबार, ०१ कार्तिक २०७६ (Friday, 18 October, 2019)
एसिड आक्रमणको भयावह चित्र : किन पर्दैछन् निशानामा किशोरी ?
शुक्रबार, २० भदौ २०७६, १७ : ११
एसिड आक्रमणको भयावह चित्र : किन पर्दैछन् निशानामा किशोरी ?

चितवन  । ‘तिमी मेरो प्रस्ताव स्वीकार्दैनौँ ? तिमी मेरो हुदिनौँ भने अर्काको पनि हुन दिन्न ।’

यहि मानसिकताका उपज देखिन्छन् धेरै एसिड आक्रमणहरु ।

पक्राउ पछि धेरै अपराधीले यही भनेका छन्, ‘मेरो मायाका प्रस्ताव उनले अस्वीकार गरिन् । म उनलाई यति माया गर्थे कि बयान गर्नै सक्दिनँ ।’

एसिड आक्रमणमा परेकी  पीडित किशोरी संगिता सिमा घटना होस् वा सम्झना दासको घटना या होस् नवलपरासीकी वसन्तीले झेल्नुपरेको हृदय विदारक घटना । अपराधीको नारी सौन्दर्यमाथिकै धावा देखिन्छ एसिड आक्रमण । 

झिसमिसे बिहानी । कक्षा ९ मा अध्ययनरत फूलजस्ती किशोरी । स्कुल पोशाक लगाएर पढ्न जान्छिन् । के थाहा बिचरीलाई अपराधीले आफूमाथि एसिड हान्छन् भनेर, तर भइदियो यस्तै घटना ।

नाम : मुस्कान खातुन
मिति : २०७६ भदौ २० गते 
समय : बिहान ६ बजे 
स्थान : वीरगञ्ज महानगरपालिका गणेशमान चोक

उनीमाथि एसिड प्रहार हुन्छ । एसिड प्रहार गर्ने भाग्छन । छात्रा चिच्चाउन थाल्छिन्–

‘बचाऊ ! बचाऊ ! मलाई पोल्यो ।’ 

उनको यो आवाज सुनेपछि स्थानीय जम्मा हुन्छन् र लगत्तै उनलाई वीरगञ्जको नारायणी अस्पताल लगिन्छ । केहीबेरमा काठमाडौँ रिफर हुन्छ । 

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले घटनाको पुष्टि गर्दै एक अपराधीलाई नियन्त्रणमा लिएको बताउँछन् । अर्कोको खोजी कार्य जारी रहेको उनी सुनाउँछन् । 

उपचारमा संलग्न स्वास्थ्यकर्मी जयमोद ठाकुर भन्छन्, ‘अस्पताल आइपुग्दा एसिडले उनको अनुहारको आधा भाग, निधार, शरीर, छाती, हातखुट्टा आदि भाग निकै जलेका थिए।

बिहान ६ बजे विद्यालय जाँदै गर्दा एसिड आक्रमणमा परेपछि गम्भीर घाइते भएकी उनलाई नारायणी अस्पताल पुर्‍याइएको थियो।

उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डूस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ।

प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माका अनुसार एसिड प्रहार गर्ने किशोरहरू १६ तथा १७ वर्षका किशोर भएको खुलेको छ।

घटनाको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। 

अर्को घटना 

आफ्नो उमेरका अरू किशोरीलाई जस्तै बिन्दवासिनी कंसाकारलाई पनि १९ वर्षको हुँदा शृङ्गारका सामान लगाएर राम्री हुन मन लाग्थ्यो।

तर झन्डै पाँच वर्षअघि आफ्नै पसलमा बसिरहेको बेला एक पुरुषले एसिड छ्यापिदिएपछि उनलाई आफ्नो जीवनमा ग्रहण लागेजस्तो भयो।

एसिड अर्थात् तेजाब प्रहारका घटनामा संलग्नलाई कारबाही र पीडितको न्यायिक उपचारका लागि पर्याप्त कानूनी व्यवस्था नभएको भन्दै अधिकारकर्मीहरुले छुट्टै कानून बनाउनुपर्ने माग गरेका छन्।

तर कानून मन्त्रालयले गत वर्ष संशोधित कानूनमा एसिड आक्रमणमा संलग्नलाई पहिलेको तुलनामा सजाय तथा पीडितलाई क्षतिपूर्तिको मात्रा बढाइएको र संसदमा पेश भएको अपराध संहिताको विधेयकमा कारबाही थप कडा बनाउन प्रस्ताव गरेको बताएको छ।

आफूले भनेको कुरामा सहमति नजनाएको भन्दै बर्सेनि महिलाहरुमाथि एसिड प्रहारका घटना बाहिर आउने गरेका छन्।

सो घटनापछि पहिलो पटक आफ्नो अनुहार हेर्दाको क्षण सम्झँदै बिन्दवासिनी भन्छिन्, ‘ऐनामा मैले एउटा कालो छायाजस्तो देखेँ अनि त्यहाँबाट ऐना नै हटाउन लगाएँ। एसिडले अनुहार बिगारेपछि बाँच्न कठिन हुँदोरहेछ।’

त्यसयता उनको अनुहारको धेरै पटक शल्यक्रिया गरियो।

चर्को घाममा हिँड्न उनलाई गाह्रो हुन्थ्यो। त्यसैले एसिड छ्यापिनुअघि उनी अनुहारको साजसज्जामा बिताउँथिन्। तर शल्यक्रियापछि उनी संवेदनशील छालाको सुरक्षाका लागि बिताउँछिन्।

एसिड आक्रमणका कारण बिन्दवासिनीले भोगेजस्तै यातना बर्सेनि कुनै न कुनै महिलाले खेप्नुपरेको छ। यो साल लोपछि दुई वटा  एसिडका घटना भएको प्रहरीले जनाएको छ।

यस्तो पनि सुन्नुपर्छ 

झन्डै एक महिनाअघि रौतहटमा आफ्नै घरमा सुतिरहेका बेला दुई दिदीबहिनीलाई पनि एसिड छ्यापियो।

दिदी सम्झनाको उपचारका क्रममा मृत्यु भयो भने १३ वर्षीया बहिनीको शरीरमा बसेका दाग देखेर आमा धनमाया दासले चिन्ता व्यक्त गर्दै भनिन्, ‘उसले अब यी दागहरू लिएर बाँच्नुपर्छ। अब उसलाई कसले विवाह गर्छ ?’

एसिड आक्रमणले पीडितलाई मात्रै नभई उनीहरूका परिवारलाई समेत जीवनभरि तनाव दिने बताउँछन्, मानसिक स्वास्थ्यविद् डा सरोज ओझा

तर पीडितको मनोदशा अझ बिग्रन नदिन परिवार र परामर्श धेरै महत्त्वपूर्ण रहेको उनी बताउँछन्।
यस्तो घटनापछि उनीहरूको मनमा अब सबैथोक सक्यो भन्ने खालको निराशाजनक सोचाइ आउँछ।

यस्तो सोचाइलाई बदलेर उनीहरूको मनोबल बढाउन परामर्शले धेरै मद्दत गर्छ। तर यसमा उनीहरूका परिवार र साथीको पनि ठूलो भूमिका रहन्छ।

अनुहारलगायत शरीरका अङ्ग नै बिग्रनेगरी भएका यस्ता हिंसा लगत्तै पीडितहरूमा आत्महत्यासम्मको सोचाइ आउनसक्ने चिकित्सकहरू बताउँछन्।

घटना भएको पहिलो दुई वर्ष पीडितहरूको आत्मबल बढाउन परिवारका सदस्यले निकै सकारात्मक ऊर्जा दिनुपर्नेमा समेत उनीहरूको जोड छ।

कसैको अनुहार वा शरीरको कुनै अङ्ग कुरूप पारेको ठहर गरिएको व्यक्तिलाई पाँचदेखि आठ वर्ष जेल सजाय र एकदेखि पाँच लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।

सजाय
तर यो सजाय कम भएको धनमायालाई लाग्छ।

उनी भन्छिन्, ‘पीडा दिने व्यक्तिले १० वर्ष पनि जेलमा बस्नुपर्दैन। तर पीडितले त जीवनभरि यी दाग लिएर बााँच्नुपर्छ।’

पीडकलाई अझ कडा सजायको व्यवस्था हुनुपर्ने उनको धारणा छ।

काठमाडौँमा एसिड आक्रमणमा परेकी सङ्गीता मगरले शरीरमा पुगेको पीडा मात्रै अनुभव गरेकी छैनन्, बाटोमा हिँड्दा मानिसहरूको कानेखुसीले उनलाई मानसिक पीडा पनि थप्ने गरेको छ।

धेरै हिम्मत गरेर म आफ्नो जीवनलाई फेरि नयाँ दिशा दिने प्रयास गरिरहेकी छु। तर बाहिर निस्केको बेला मानिसहरूले हेर्ने र सँगै भएका लागि कोट्याएर देखाउने र बिचरा भन्ने खालका व्यवहारले फेरि निराशा जाग्छ।

यस्तो अवस्थामा मनोपरामर्शको अभाव अनुभव गरेको भन्दै सङ्गीताले भनिन्, ‘परामर्श पाए केही सहज हुन्थ्यो भन्ने मलाई धेरै पटक लागेको छ र अरूलाई पनि यस्तै हुन्छ होला। तर मैले अझसम्म परामर्श पाएकी छैन।’

मान्छेका सहानुभूति र करुणामिश्रित यस्ता धेरैजसो प्रतिक्रियाले मनोबल घटाइदिने बिन्दवासिनीको अनुभव छ।

समाजले हामीलाई गर्ने व्यवहारले धेरै फरक पार्छ। उनीहरूले हेयभावले हेरेका बेला धेरै नकारात्मक सोच आउँछ र यस्तो भएर पनि किन बाँच्नुजस्तो लाग्छ।

यस्तो बेला म परिवारसँग धेरै समय बिताउँछु र युट्युबमा प्रेरणा दिने खालका भिडिओ हेर्ने गर्छु।

पुनर्स्थापना
शल्यक्रिया गर्न भारत पनि पुगेकी बिन्दवासिनीले अहिलेसम्म व्यावसायिक व्यक्तिबाट परामर्श पाएकी छैनन्।
परामर्श लिन कहाँ र कसरी जाने थाहा नभएर हो र यस्तो महसुस गरेको समयमा सकारात्मक ऊर्जाका लागि म युट्युब हेर्न थाल्छु।

सरकारले चाहिँ एसिड आक्रमणका लागि भनेर पीडितको माग अनुसारको विशेष व्यवस्था नभएको जनाएको छ।

महिला मन्त्रालयका अनुसार सबै प्रकारका पीडितका लागि पुनर्स्थापनाकेन्द्र राखेका छौँ। तर यस प्रकारका पीडितले यस्तो सेवाको उपयोग गरेको थाहा छैन।

एसिड आक्रमणका घटना बढ्दै गएकाले यसबारे छुट्टै गर्ने हो कि भन्नेबारे मन्त्रालयमा छलफल हुन थालेको छ।

अनेक पीडा भएपनि बिन्दवासिनीले आफ्नो फेसबुकमा सकारात्मक सन्देश लेखेकी छन् ‘म नै मेरो प्रेरणा हुँ र अरूका लागि पनि प्रेरणाको स्रोत बन्न चाहन्छु।’

जीवनमा यति धेरै अप्ठ्यारा भएपनि सकारात्मक ऊर्जाका साथ अघि बढ्ने प्रयास गरिरहेका यस्ता महिलालाई सम्मानजनक व्यवहार गर्न सकिए समाजमा उनीहरू उदाहरण बन्न सक्ने जानकारहरू बताउँछन्।

तर त्यसका लागि घर, समाज र राज्यले पनि त्यस्तै सकारात्मक व्यवहार गर्नुपर्ने उनीहरूको भनाइ छ।

एसिड आक्रमणको १५ महिने श्रृङ्खला

– २०७६ भदौ २० गते विहान, प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै पर्साको विरगञ्जमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार ।

– २०७६ जेठ १ गते बुधबार राति, काठमाडौंको कालोपुलमा २२ बर्षीया जोनी खड्कामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण ।

– २०७५ पुस १८ गते, पोखरा महानगरपालिका २९ आदर्शनगरमा २० बर्षीय डोल्मा रुम्बा आफ्नै श्रीमानबाट एसिड आक्रमण

– २०७५ असोज ८ गते राति, पूर्वी नवलपरासीको कावासोतीमा २० बर्षीया बसन्ती परियार माथि एकसाथ एसिड र छुरा आक्रमण, एकतर्फी प्रेमका कारण आक्रमण भएको खुलासा

– २०७५ असोज ३ गते, पारिवारीक कलहका कारण अछामको तुर्माखाद गाउँपालिकामा ६ महिनाका एक बालक माथि एसिड प्रहार ।

– २०७५ भदौ २६ गते, रौतहट चन्द्रपुरका सुतिरहेको अवस्थामा १८ वर्षीया सम्झनाकुमारी दास र १५ वर्षीया सुस्मिता कुमारी दासमाथि एकसाथ एसिड प्रहार भयो ।

– २०७५ बैशाख १० गते, चितवन टाँडी अस्थायी ट्राफिक पोष्टका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँबाट नै भरतपुरमा स्थानीय कल्पना श्रेष्ठमाथि एसिड प्रहार ।


निरुत्साहित गर्न छुटै कानुन
एसिड अर्थात् तेजाब प्रहारका घटनामा संलग्नलाई कारबाही र पीडितको न्यायिक उपचारका लागि पर्याप्त कानूनी व्यवस्था नभएको भन्दै अधिकारकर्मीहरुले छुट्टै कानून बनाउनुपर्ने माग गरेका छन्।

तर कानून मन्त्रालयले गत वर्ष संशोधित कानूनमा एसिड आक्रमणमा संलग्नलाई पहिलेको तुलनामा सजाय तथा पीडितलाई क्षतिपूर्तिको मात्रा बढाइएको र संसदमा पेश भएको अपराध संहिताको विधेयकमा कारबाही थप कडा बनाउन प्रस्ताव गरेको बताएको छ।

आफूले भनेको कुरामा सहमति नजनाएको भन्दै बर्सेनि महिलाहरुमाथि एसिड प्रहारका घटना बाहिर आउने गरेका छन्।

बीबीसीको सहयोगमा 
 

प्रतिक्रिया दिनुहोस