ग्राहकको रोजाईमा अरिङ्गालको परिकार

रासस

शुक्रबार, २० भदौ २०७६, १३ : २७
ग्राहकको रोजाईमा अरिङ्गालको परिकार

म्याग्दी । जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ ।

मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ ।

म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित होटलमा अरिङ्गालको परिकारको माग बढेको छ । जङ्गलमा पाइने अरिङ्गालको माग बढेसँगै व्यापार पनि बढेको व्यवसायी बताउँछन् । गत वर्ष अरिङ्गालको ‘फ्राई’ बिक्री गरेर रु चार लाख आम्दानी गरेकी बेनी नगरपालिकाका सिर्जना भट्टचन अहिले पनि अरिङ्गालको परिकार बनाउन व्यस्त देखिनुहुन्छ । 

मौसम शुरु भएसँगै उनको होटलमा अरिङ्गालको परिकारका पारखी आउन शुरु गरेका छन् । तीन दशकदेखि होटल व्यवसाय गर्दै आएकी भट्टचनले अरिङ्गालको परिकार बिक्री गर्न थालेदेखि आम्दानी पनि बढेको छ । उहाँले अरिङ्गालको गोलो खरीद गरी परिकार बनाएर बिक्री गर्दै आउनुभएको छ ।

अहिले यो परिकार प्रतिप्लेट रु ६०० मा बिक्री हुने गरेको छ । अरिङ्गालको परिकार निकै स्वादिलो हुने भएकाले पनि ग्राहक खोजीखोजी खान आउने गरेका छन् । त्यसैले दैनिक १० देखि १५ प्लेटसम्म बिक्री हुने गरेको छ । 

अरिङ्गाल पोलेर बिक्री गर्न थालिएसँगै गाउँका केही युवाको पनि आम्दानी बढेको छ, तर युवाले भिरमहजस्तै अरिङ्गाल पोल्न सरकारले लाइसेन्स दिनुपर्ने बताउँछन् । सामुदायिक तथा वन जङ्गलमा बिना अनुमति अरिङ्गाल पोल्ने कामका बारेमा कानूनमा प्रष्ट नहुँदा स्थानीय सरकारको पनि चासो पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस