तीन दशकदेखि सदाबहार एउटा गीतको जन्मकथा

सोमबार, १६ भदौ २०७६, १५ : ०७
तीन दशकदेखि सदाबहार एउटा गीतको जन्मकथा

चितवन । आज तीजको दिन । यतिबेला चेलीबेटीहरु धुमधामले नाचगान गरिरहेका छन् । तीजको अवसरमा वर्सेनि एक सयभन्दा बढी गीत सार्वजनिक हुन्छन् । तर तीन दशकअघि आएको एउटा गीतलाई कुनै गीतले फड्को मार्न सकेको छैन । नेपाली कथानक चलचित्र कन्यादानको गीत ‘तीजको रहर आयो बरिलै’ भन्ने गीतले अहिले पनि बजार खाइरहेको छ । यस गीतको जन्मकथा यहाँ केलाइएको छ । 

गीतको जन्मकथा :
प्रकाश थापा नेपाली कथानक चलचित्र ‘कन्यादान’ निर्देशनको तयारीमा थिए। त्यसबेला फिल्मका लागि चार कि पाँच गीत त अनिवार्य जस्तै हुन्थ्यो। उनी यसकै लागि उत्कृष्ट गीतकारको खोजीमा थिए। यही क्रममा उनको भेट चेतन कार्कीसँग भयो । चेतनसँग उनको पुरानो मित्रता थियो। 

छोरा विजयसहित थापा एकदिन जावालाखेलस्थित कार्कीको घरमा पुगेर आग्रह गरे, फिल्मका लागि गीत लेख्न पर्ने भयो । नयाँ फिल्म बनाउँदै छु। यहाँले दुई–चार वटा गीत लेख्न भ्याउनुहुन्छ ? उनको प्रस्ताव थियो।

त्यसबेला नेपाली फिल्ममा सर्वाधिक गीत लेख्ने र सबैले गने–मानेका गीतकार थिए, किरण खरेल। प्रकाश थापा र उनको जुगलबन्दी निकै गहिरो थियो। किरणजीलाई लेख्न नलगाएर यिनीहरू किन मकहाँ आए भनेर सुरुमा त चेतन छक्क परेको थिएँ । कार्की सुनाउँछन्, यो कुरा जान्न मन लाग्यो र प्रकाशजीलाई सोधेँ । उनी भन्छन्, ‘उहाँले किरण खरेलले नै तपाईंलाई लेख्न लगाउनु भनेर सिफारिस गर्नुभएको भन्नुभयो ।’

फिल्मकी नायिका गौरी मल्ल बालविधवा थिइन् । सासूको टोकसो, तीजका बेला साथीसंगी रमाएको देख्दा उनलाई पनि तीजमा चुरापोते, रातो सारी लगाएर नाच्न मन लाग्ने दृष्य थियो ।  त्यसको कल्पना गरेको अवस्थालाई चित्रण गर्नेगरी गीत लेखिदिनु भनेर निर्देशक थापाले प्रस्ट्याएपछि कार्की लगभग सहमत भए।

रातिको त्यस्तै साढे ९ बजेको हुँदो हो। कापीकलम लिएर उनी गीत लेख्न बसे। तीज–गीत कस्तो शैलीको लेख्ने होला ? दिमाग निकै बेर खेलाए। ‘त्यसबेला मैले गण्डक क्षेत्रमा लोकप्रिय तीज–भाकाबारे सम्झिएँ। त्यहाँ बरिलैका भाका प्रचलित थियो’ उनले भने, ‘बरिलैलाई नै थेगो बनाएर गीत लेख्न थालेँ ।’ कार्की करिब तीन दशकअघि फर्किएर भने, ‘त्यहाँका ठेट शब्दावली प्रयोग गर्दा थप आकर्षक हुने ठानी सैनीु, छिड्केरी आदिलाई गीतमा समेटेँ।अनुप्रासका मामिलामा निकै ध्यान दिएको थिएँ।’

व्रतसँग अनुप्रास मिलाउनका त्यस्तो लेखिए पनि  गीतसंगीतको मामिलामा यस्तो चल्ने उनले तर्क गरे। लेखन कार्य त सकियो। पछि उनले निर्देशक थापालाई बुझ्दा यस गीतका गायक र संगीतकार मनोहरि सिंह र सुषमा श्रेष्ठ रहेछन्। दुवै भारतीय मूलका। 

भारतीयलाई नेपालको तीजे–लोक भाकाबारे के थाहा होला र भनी कार्की आफ्नै स्वरमा यो गीतलाई टेपमा रेकर्ड गरेर रफ–डमी पठाइदिए । गीतकार कार्कीले सम्झिए, ‘प्रकाशजीले बम्बई लगेर यसको रेकर्डिङ गराउनुभयो। उताबाट आएपछि गीत अलि फरक शैलीको भएको मैले महसुस गरेँ। मनोहरिजीले मेरो लयलाई केही इम्प्रोभाइज्ड गर्दिनुभएछ। गायिका र बम्बईका कोरसको स्वर पनि मिठो लाग्यो मलाई।’

कन्यादान फिल्म रिलिज भएपछि यो गीत बाहिर आयो। नेपालका चर्चित नायिकाले गीतअनुरुप न्याय गरेको भन्दै धेरै प्रशंसा भयो। गीतलाई त्यसबेलाका स्रोताले कति रुचाए होलान्, अहिलेको लोकप्रियताले नै प्रस्ट पार्छ। तीजमा धेरै गीत आए र गए । तर यो तीन दशकदेखिको कर्णप्रिय गीतले अहिले पनि बजार पिटेको छ । 

हरेक तीज आउनासाथ यही गीत पहिलो रोजाइमा पर्छ। तीज यो गीत पर्याय जस्तै बनिसकेका छन्। गीतमा नौ डाँडा काटेर गएका चेलीबेटीको पुनर्मिलनको अवसर– तीज र यसको तामझाम आदिबारे बताएको छ। 

प्रतिक्रिया दिनुहोस